अष्ट्रेलियामा करोडपति सपना !

‘ठूला ठूला घर छैन, मर्सिडिज कार छैन……’ धेरै अष्ट्रेलिया आएका र केही हदसम्म सेटल भएका नेपालीहरूको चिन्ताको विषय हो यो खासमा। भुवन केसीको फिल्ममा पो त ‘….न भएनी … रत्तीभर डर छैन..’ वास्तविकतामा सबैलाई ठूला घर र महँगा आरामदायी गाडी चाहिएको छ। जसले अष्ट्रेलियामा सबैलाई व्यस्त र वेचैन बनाएको छ चाहे ति ब्रिटिश हुन् या चाइनिज अनि लेबनिज नै किन नहुन। नेपालीहरू पनि अरू खेतको मुली परेनन्। नेपालीलाई चिन्ता नहुने कुरा नै भएन। त्यसमा पनि अरूको देखे पछी त्यसले कतिको प्रज्वलनशिलता पैदा गर्छ त्यो हामी सबैलाई थाहा छ।

 

स्वभावैले पश्चिमा देशहरू मटरेयालिस्ट हुन्। भौतिकवादी ! हुन त नेपालमा पनि कम्युनिष्टहरूको द्वन्द्दात्मक भौतिकवादले सबैलाई भौतिकवादी बनाई सकेको छ। नत्र साम्यवादको सिद्धान्त बोकेर सर्वहाराको नारा दिने प्रचण्ड कसरी सबैभन्दा उपल्लो सामन्ती बन्न सक्ने। मूल थलो नै भौतिकतामा सम्पूर्ण डुवेको अवस्थामा अष्ट्रेलियामा रहने बस्ने नेपालीलाई भौतिकवादले नछोप्ने कुरै भएन। त्यसमा पनि यो देश जहाँ पैसा नै सबै सुख, शान्ति र सम्वृद्धीको आधार हो। जहाँ आउनासाथ सुनिएको हुन्छ ‘अष्ट्रेलियामा पैसा बाहेक कसैको भर हुँदैन’। त्यसैले सबैको ध्यान पैसा कमाउने र जोगाउनेमा नै हुन्छ। त्यसमा पनि यहाँको खर्च र आवश्यकता नेपालमा बस्नेले सोच्ने भन्दा आकाश पातालको नै हुन्छ।

 

अनि, अर्को मूख्य कुरा चैं यहाँ ‘थ्री डब्लु’ भनिने वर्क, वेदर र ओमनको भर हुँदैन। यी तिन कुरा परिवर्तन हुन समय नै लाग्दैन यहाँ। जसले सिधै असर पार्ने भनेको पैसा र कमाईमा हो। यहाँ क्षमता नभए र परफरमेन्स राम्रो दिन सकेन भने कामबाट जहिले पनि निकालिइनु पर्छ। ‘हायर एण्ड फायर’ खालको काममा धेरै नेपाली भएकाले कम्तिमा दुईवटा काममा लाग्नुपर्ने वाध्यता पनि छ। त्यसै नि अष्ट्रेलियामा सँधै ‘प्लान बी’ हुनै पर्छ। यीनै बाध्यताका बीच पलाउने अष्ट्रेलियामा घर र गाडी किन्ने सपना ‘काँडाका बीच फुलेको फुल’ भन्दा कम पक्कै होवोइन। टिप्न तरिका मिलाएर टिप्नुपर्ने। टिपेकाहरूलाई थाहा छ कसरी मिलाउन पर्छ काम, कुरा र आर्थिक व्यवस्थापन।

अष्ट्रेलियामा करोडपति सपना !
नेपालमा धेरैले धेरै गुमाएको अनि धेरैलाई रुवाएको ‘यूनिटी’, ‘लाईफभिजन ईन्टरनेशनल’, ‘गोल्डक्वेष्ट’, ‘हर्बो’को मल्टिलेबल मार्केटिंग (पिरामिड शैलीको मार्केटिंग)को चक्कर अनि ढुकुटीको खेला हावा फुस्केको बेलुन बनेपनि अष्ट्रेलिया आएर अलिकति सेटल भएका नेपालीहरू फेरी बिना कुनै ठूलो परिश्रम करोडपति बन्ने सपनाका साथ नेटवर्क तयार पार्नमा लागेका छन्।

 

त्यसैले अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूलाई सबै भन्दा चिन्ता हुन्छ, काम अनि पैसाको। ‘कसरी कमाउने पैसा?’, ‘सँधै किचन र क्लिनिङको काम गरेर त सकिन्न’, ‘फिजिकल काम मात्र कति गर्नु?’, ‘कसरी जोड्ने अष्ट्रेलियामा घर?’, ‘खैरेहरू जस्तो ७० वर्षसम्म काम गर्न त सकिन्न?’ यस्तै प्रश्नहरूका बिच यतिखेर अष्ट्रेलियामा नेपाली माझ झाँगिन थालेको छ ‘करोडपति सपना’ र त्यसलाई साकार पार्ने उपाय। अनि हरेक जसो साता नयाँ सदस्यको ‘इन्ट्री’ गराउने अभियान। त्यसका लागी अभियन्ताहरू लागि रहेका छन्, कामबाट फुर्सत पाउने बित्तिकै। आफ्नो चिनजान भएका हरेकलाई फोन गर्न अनि भेट्ने अनुरोध गर्न। अनि सिड्नीको सजिलो करोडपति बन्ने योजना र बाटो’bout चर्चा गर्न। थोरै आर्थीक र धेरै सम्बन्धको लगानीले देखाउने अनन्त सम्वृद्धिको योजना चाहिँ हामी धेरैका लागि परिचिर ‘एमएलएम’ अर्थात ‘मल्टिलेबल मार्केटिंग’ नै हो।

नेपालमा धेरैले धेरै गुमाएको अनि धेरैलाई रुवाएको ‘यूनिटी’, ‘लाईफभिजन ईन्टरनेशनल’, ‘गोल्डक्वेष्ट’, ‘हर्बो’को मल्टिलेबल मार्केटिंग (पिरामिड शैलीको मार्केटिंग)को चक्कर अनि ढुकुटीको खेला हावा फुस्केको बेलुन बनेपनि अष्ट्रेलिया आएर अलिकति सेटल भएका नेपालीहरू फेरी बिना कुनै ठूलो परिश्रम करोडपति बन्ने सपनाका साथ नेटवर्क तयार पार्नमा लागेका छन्। जोसँग नेटवर्क र आफन्तलाई हाबा भरेको बेलुन बनाएर सपनाको करोडपति संसारमा पुग्ने योजना छ।

त्यसको लागि पछिल्लो समय नेपालीहरू ‘एमवे’ र ‘एसीएन’मा कस्सिएर लागेका छन्। ‘एमवे’ र ‘एसीएन’मा लाग्ने नेपालीको संख्यामा उल्लेख्य रूपमा विद्यार्थीहरू पनि छन् जो शारिरीक परिश्रम पर्ने कामको बिकल्पमा यो नेटवर्क मार्केटिंगले वार्षिक १ लाख ५० हजार डलर सम्म कमाइने मिठो सपनामा छन्। र त्यसैको चक्करमा ५०० डलर खर्चेर सदस्य बन्दै आफ्नो लगानी उठाउन आफ्ना साथीभाई अनि आफन्तलाई यसमा लगाउन कम्मर कसेर लागेका छन्।

सिड्नीमा त अवस्था यस्तो बनिसक्यो कि लामो समय देखी सम्पर्कमा नरहेकाहरूले फोन गरे भने पक्का ‘एमवे’ वा ‘एसीएन’मा मेरो अण्डरमा सदस्य बन्न परयो भन्न नै हो भन्दा फरक नै नपर्ने हुने थाल्यो। फेसबुकमा आउने मेसेजहरु पनि ‘एमवे’ र ‘एसीएन’कै कुरामा केन्द्रित हुन थालेको छ। त्यसो त फेसबुकमा खाली समयमा एक्स्ट्रा कमाईको लागी काम गर्न ईच्छुकले सम्पर्क गर्नुस भन्ने सन्देश त हरेक ग्रुपमा पोस्ट भइरहेको हुन्छ।

‘एमवे’को परिचयात्मक यो भिडियो हेर्नुस, तपाईलाई लाग्न पर्ने बाटो त यो पो हो भन्ने लाग्छ

‘एमवे’को लाईनमा लाग्नेहरूले पैसा कमाउनको लागी ‘एमवे’को सामानहरू बेच्नुपर्छ। ईकमर्श वा प्रोजेक्ट जे भने पनि ‘एमवे’मा लागेको सदस्यले ‘एमवे’को स्टोरबाट सामान आफ्नो रिफरेन्समा अर्को (साथीभाई, आफन्त)लाई किनाउने नै हो। यस्ता सामान ‘एमवे’ भन्दा अर्को स्टोरमा पाईंदैन र ‘उलवर्थ’ ‘अल्दी’ लगायतका स्टोरमा पाइने उस्तै सामान भन्दा महँगा हुन्छन्। जसको बिक्रिको कमिसन पिरामिड शैलीमा बनेका पुराना सदस्य (आइबिओ, वा यस्तै कुनै पद तथा श्रेणी दिएको)हरूलाई तोकिएको प्रतिशतमा मिल्छ। आफुभन्दा तल बनेका सदस्यहरूको कारण भएको बिक्रीको पनि कमिसन आउने भएकाले पछी कुनै समयमा कमिसनको रकम धेरै हुँदै जाने हो। तर त्यसका लागी आफूभन्दा तल बनेका सदस्यले थप सदस्य पनि बनाउँदै जानुपर्छ र तिनले ‘एमवे’को सामान किनेर प्रयोग गर्नपर्छ। यसमा लाग्नको लागी ८५ डलर जति खर्च गरे पुग्छ त्यसको पनि विभिन्न सामान दिन्छन् सदस्य बनाउनेले। यसमा ४०० जति खर्च गर्दा आफुलाई कमिसन १२ डलर जति आउँछ। तर त्यसका लागी ‘एमवे’को टुथपेस्ट देखी ट्वाइलेटपेपर सम्म खरिद गर्नु पर्छ नि। ‘उलवर्थ’ वा ‘कोल्स’ वा ‘अल्दी’मा सस्तो देखेर किन्न थाल्नु भो भने चैं कमिसनको मात्रा नि चट।

‘एसीएन’मा चैं लाग्दैमा ५०० डलर जति सदस्यता शुल्क तिर्नुपर्छ। आफुले ३० देखी ६० दिनमा दुईजनालाई ५०० तिर्ने सदस्य बनाएपछी चैं यो फिर्ता हुन्छ। यही कारण हो ‘एमवे’मा लाग्ने भन्दा ‘एसीएन’मा लाग्नेहरू सदस्य बन्नलाई धेरै जोड दिन्छन्। ‘एसीएन’को राम्रो पक्ष भनेको ग्रोसरीको सामान चैं बेच्नुपर्दैन, भोडाफोनको कनेक्सन, बिजुली, ईन्टरनेटको कनेक्सन साथीभाई, आफन्तलाई बेच्ने हो। यसमा आफन्तलाई पनि केही छुट भएजस्तो भान हुन्छ।

‘एमवे’ र ‘एसीएन’ दुवैले ग्राहकसँख्या र सेवा वा सामान बिक्रीको आधारमा कमिसन दिने हुन। पिरामिड शैलीमा एकबाट दुई, दुईबाट चार हुँदै जाँदा सेवा सामान खरिदकर्ता र सदस्यको नेटवर्क ठूलो रूपमा फैलँदै जाँदा तह बढ्ने, कमिसन धेरै हुने हो।

के यो नेटवर्किङ हो?

 

यो तपाईलाई चिनाउने मानिसले यो दुवैलाई अवसर, बिजनेस वा प्रोजेक्टको रूपमा चिनाउँछन। गुगल गरेर हेर्नुभयो भने ‘एमवे’ र ‘एसीएन’ दुवै मल्टिलेबल मार्केटिंग कम्पनी हुन्। जसले आफ्ना सदस्यहरूलाई थप सदस्य बनाउन र आफुले मार्केटिंग गर्ने सेवा र उत्पादन किनाउन प्रोत्सासित गर्छन्। जुन कुरा सदस्यले आफ्ना साथीभाई आफन्तको नेटवर्क नबनाई र नेटवर्कमा नकिनाई बिजनेस अनि कमिसनको आम्दानी हुँदैन। त्यसमा पनि यसको विस्तार शैली नै पिरामिड छ। एकबाट दुई अनि दुईबाट चार।

नेपालमा त गैरकानुनी थियो त!

 

मल्टीलेबल मार्केटिंग (एमएलएम) पश्चिमा देशहरूमा कानुनी मात्र होइन राम्रो व्यवसायका रूपमा रहेको छ। मल्टीमिलियन डलर नाफा गर्ने यस्ता कम्पनिको आर्थिक अवस्था नि राम्रै हुन्छ। अष्ट्रेलियामा पनि यी दुवै व्यवसाय कानुनि मान्यता प्राप्त मार्केटिंग कम्पनी हुन। अष्ट्रेलियामा उपभोक्ता अधिकार र सुरक्षा सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था भएकाले यीनमा लाग्न चैं डराउन पर्दैन। त्यसमा पनि दुवै कम्पनी भौतिक रूपमा नै अष्ट्रेलियामा छन्। ‘एसीएन’ले त भोडाफोन, टेलष्ट्रा र एनबीएनको समेत मार्केटिंग गरिरहेको छ। कानुनी र व्यवस्थाको हिसाबमा कुनै शंका छैन, नलिंदा हुन्छ। अष्ट्रेलिया विधिको शासन भएको देश हो।

ल हेर्नुस ‘एसीएन’को यो परिचयात्मक भिडियो हेर्नुस, हैट ‘एमवे’त केहि हैन लाग्न पर्ने बाटो त यो पो हो भन्ने लाग्छ

के सफल भइएला?

शंका गर्न र सोच्न पर्ने कुरा चैं यो हो। एमएलएममा लागेर सफल हुने नहुने भन्ने लाग्ने मानिसमा भर पर्छ। अनि आफ्नो सामाजिक, सांस्कृतिक र आर्थिक पृष्ठभूमिमा। तपाईंका साथीभाई नेटवर्कको साथ यसमा कस्तो हुन्छ तपाईको लागी महँगो र निश्चित ब्राण्डको सामान किनिदिन्छन त साथीभाई, आफन्तले। तपाईंको लागी मोबाईल अपरेटर, बिजुलीको रिटेलर अनि ईन्टरनेट सेवामा परिवर्तन गर्नेको संख्या कति हुनसक्छ र कतिलाई तपाईंले कन्भिन्स गर्न सक्नुहुन्छ त्यसमा तपाईंको सफलता निर्भर गर्छ।

याद राख्नुपर्ने कुरा के हो भने यो दुवै पश्चिमा कम्पनि हुन् र यीनिहरूको मार्केटिंग शैली साथै सामान र सेवाको प्रकार, दर सबै उनीहरूको समाजलाई हेरेर डिजाइन गरिएको छ। जुन नेपाली समाजका लागी फिट नहुन पनि सक्छ। तपाईंको सौभाग्य सफल हुनुभयो भने थोरै काम र परिश्रम गरेर नि राम्रै पैसा कमाउन पनि सक्नुहुन्छ।

 

मेरो विचार

अष्ट्रेलियामा करोडपति सपना !
मेरो चैं लाग्ने कुनै योजना छैन।

 

सुन्दा राम्रो र सजिलै पैसा कमाइने धनी बनिने कुरा कसलाई पो नराम्रो लाग्छ। त्यसमा पनि मानिसहरू सफल भएको सक्सेस स्टोरी जो सुनिएको छ। नीजि जहाजै किन्न समेत सफल भएका मानिसहरू छन् यो लाइनमा। तर म आफू चैं यसमा लाग्ने सोचमा छैन। ’cause:

 

१. ज्याक्की च्यान, आर्नोल्डले हलिउडमा सफलता पाएर नाम, दाम कमाए भनेर त्यसको अनुसरण गर्न जसरी सक्दिन त्यसैगरी ‘एमवे’ र ‘एसीएन’का जहाजै किन्न सफल विलियम वा ज्याकको अनुसरण पनि गर्न सक्दिन। मेरो धरातल उनीहरूको भन्दा फरक छ।
२. म आफू महँगो तथा एउटा कुनै निश्चित ब्राण्ड जिवनभर उपभोग गर्न, किन्न सक्छु भन्ने लाग्दैन र आफन्तबाट पनि त्यसको आशा राख्दिन।
३. सानो तिनो काम गरेर मैले करोडौं कमाउँछु र हलिउड स्टार झैं नीजि जेटमा हिँड्छु भन्ने खालको सपना पनि छैन र वास्तवमा त्यो सम्भव पनि छैन।
४. काम नगरीकन पैसा आउँछ भन्नेमा मलाई विश्वास छैन। बाँचुन्जेल सक्रिय जिवन जिउने सोच र स्कुलिङ छ।
५. आफुले कमिसन पाउने र लेबल बढ्ने भनेर आफन्त र साथीभाईलाई कुनै निश्चित सेवा, सामान लिनको लागी दबाब, कन्भिन्स अनि उत्प्रेरित गर्न सक्दिन।साथीभाई, आफन्त यही ठाममा ठिक छन् उनिहरूलाई ‘क्लाईन्ट’को ठाममा सिफ्ट गर्नु ठिक पनि होइन भन्ने लाग्छ। अनि  बेकारमा लिच्चड छबि बन्छ अनि त्यसो गर्नु मेरो सोचले पनि दिँदैन।

 

तपाईंहरूलाई यो व्यवसायको शैली र तरिका राम्रो लाग्छ, यसमा लागेर केही गर्न सक्छु भन्ने लाग्छ भने लाग्नुस। मेरो शुभकामना!!

लेखक: मदनमणि

अष्ट्रेलियाको सिड्नीमा बस्ने मदनमणिसँग मिडिया, फोटोग्राफी र डिजिटल मार्केटिंगको अनुभव छ। अष्ट्रेलिया आउनु अघि उनी अन्नपूर्ण पोष्ट दैनिक पत्रकारिता पेशामा आबद्ध थिए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ