अष्ट्रेलियाको यस्तो अप्रिल फुल

अंग्रेजी क्यालेन्डरको अप्रिल महिनाको १ गतेलाई ‘अप्रिल फुल’ अर्थात् मूर्ख दिवसको रुपमा मनाउने चलन छ। पश्चिमा देशहरुमा यो दिन उटुँगा उटुँगा कामहरु गरेर आफ्ना आफन्त, साथीभाईलाई उल्लु बनाएर मजा लिइन्छ। अप्रिल फुलको मज्जा त्यतिबेला सम्म रहन्छ जतिबेला सम्म आफू नै उल्लु बनेको थाहा हुँदैन। आफूलाई अरुले उल्लु बनाएको पत्तो चलेपछि भने यसमा त्यति धेरै मजा आउँदैन। तर पनि यो झुक्याउने खेल र परम्परा निक्कै सहभागीतामुलक र रमाइलो छ। आजकल त प्रयांकको नामबाट वर्ष भर नै झुक्याउने खेल चलिरहेको हुन्छ। त्यसखालका गतिविधि फिल्ममा उतारेर यूट्युब च्यानलबाट वर्ष भर नै प्रशारण भइरहेको हुन्छ। यो एउटा कलाको विधाका रुपमा नै स्थापित भएको छ आजकल।

यो झुक्याउने खेल खेल्ने चलन पश्चिम तिरको भएपनि पूर्विय संस्कारका नेपाल र भारतमा समेत ‘अप्रिल फुल’ भन्दै मानिसहरुलाई झुक्याउने वा अफवाह फैल्याउने काम वाषिर्क परम्परा नै बनेको छ। नेपालीहरु इतिहास देखी नै सोझा मानिन्छन् वर्तमानको राजनीति र कर्मचारीतन्त्रलाई बिर्सने हो भने आम नेपाली गाई जस्तै सोधा र सुधा छन्। छक्का पञ्जा जानेका छैनन्। गाउँ तहमा यो अप्रिल फुल नपुगे पनि शहरमा भने युवाहरु साथीभाईलाई झुक्याउने खेल खेलेर अप्रिल फुल मनाउँछन्। जुन सबै मजाक र रमाइलोको लागि हो र त्यसमा मात्र सिमित रहँदा मजा नै हुन्छ। नेपालमा पनि अप्रिल फुल मनाउने चलन स्थापित नै भएको छ यतिखेर। विशेष गरेर अंग्रेजी दैनिक दि हिमालयन टाइम्स र लोकप्रिय ब्लग माइसन्सारले ‘अप्रिल फुल’मा मानिसले सजिलै पत्तो नपाउने सामग्री बनाउँछन् हरेक वर्ष माइसन्सारले बनाएको अप्रिल फुल सामग्रीलाई साँच्चै मानेर कतिपय दैनिक र समाचार पोर्टलले महत्वको समाचार नै बनाएका पनि थिए।

अष्ट्रेलियाका बासिन्दाको लागि त यो रौनक र मस्तीले भरिएको अवसर नै भइहाल्यो। अप्रिलको पहिलो दिन नै साथीभाईलाई ‘फुल’ बनाउनका लागि करिब एकसाता जतिको तयारी नै पो हुन्छ। त्यसो त ठूला कर्पोरेट हाउस देखी सेना प्रहरी जस्ता राज्यका अंगहरुले पनि अप्रिल फुल मनाउन राम्रै तयारी गरेका हुन्छन्।

यस पटक भोडाफोन अष्ट्रेलिया, कोल्स, तास्मानिया प्रहरी, भर्जिन अष्ट्रेलिया, नेसनल जोग्राफिक लगायतको अप्रिल फुल सामग्री अत्यन्त राम्रो छ, जसले साँच्चै नै झुक्याउन सफल हुन्छ। यस्ता छन् अष्ट्रेलियाका राम्रा अप्रिल फुल सामग्री:

न्यूसाउथवेल्स प्रहरी

न्यूसाउथवेल्स प्रहरीले आफ्नो फोर्स सबै खालका अपराध अनुसन्धानका लागि आफूलाई सुसज्जित गराउने क्रममा ‘म्यागपाइ’ नामको चरालाई पनि कुकुरलाई जसरी नै फोर्समा समावेश गरेको समाचा जस्तै सामग्री प्रस्तुत गरेको छ।

नेसनलजोग्राफिक च्यानल

CARS TO DRIVE ON TOP OF THE SYDNEY HARBOUR BRIDGE

अष्ट्रेलियाको नेसनल जोग्राफिक च्यानलले अप्रिल फुलका लागि सिड्नीको हार्बर ब्रिजलाई फोटोसफ गरेर ब्रिजको माथिल्लो भागबाट पनि कार चलाउन सकिने गरि बाटो बनाइने समाचार प्रस्तुत गरेको छ। उसले ब्रिजको आर्क परेको माथिल्लो भागबाट शहरको यातायात व्यवस्था मिलाउनका लागि कारहरु चल्ने गरि नयाँ बाटो बनाउन लागिएको र त्यसको लागि सकारात्मक संकेत मिलेको उल्लेख गरेको छ।

कोल्स

Coles NEW hover trolleys

अष्ट्रेलियाको रिटेल चेन कोल्सले भने आफ्नो फेसबुक पेजमा ग्राहकहरूको सुविधाको लागी आफै हावामा तैरने र सामान खरिद गर्दा हरेक समय स्वचालित रूपमा उपभोक्ताको नजिक रहने सपिङ ट्रली ल्याउन लागेको कुरा उल्लेख गरेको छ।

तास्मानिया प्रहरी

sniffer pigs by Tasmania Police

तास्मानिया प्रहरीले सुँगुरलाई पनि कुकुर जस्तै गरेर सुरक्षाका लागी फोर्समा राखेको भन्दै प्रहरी भेषमा रहेको सुँगुरको फोटो फेसबुकमा प्रकाशित गरेको छ।

भोडाफोन

Voda-Drone April Fool

अष्ट्रेलियाको ठूलो मध्येको एक मोबाइल सेवा प्रदायक भोडाफोनले ड्रोन (भोडा ड्रोन) मार्फत वाइफाइ सेवा अप्रिल १ देखी गर्न लागेको भनेर प्रेस रिलिजको शैलीमा अप्रलि फुल सामग्री बनाएको छ।

भर्जिन अष्ट्रेलिया

अष्ट्रेलियन एअरलाइन्स भर्जिन अष्ट्रेलियाले भने भिडियो नै बनाएर आफ्ना बिमानमा शतप्रतिशत बालबालिका मात्र रहने क्याबिन बनाएको देखाएको छ।

लेखक: मदनमणि

अष्ट्रेलियाको सिड्नीमा बस्ने मदनमणिसँग मिडिया, फोटोग्राफी र डिजिटल मार्केटिंगको अनुभव छ। अष्ट्रेलिया आउनु अघि उनी अन्नपूर्ण पोष्ट दैनिक पत्रकारिता पेशामा आबद्ध थिए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ