‘…नत्र कसलाई रहर हुन्छ, घर छोडेर जाने, गाउँ छोडेर जाने अनि देशै छोडी जाने’ यो एउटा लोकप्रिय गीत मात्र होइन हामी सबैको लागि देखाउने बाहना पनि हो। बसाइँ सराइँ आदीकाल देखी कै मानिसको क्रियाकलाप अनि प्रक्रिया भएपनि नेपालमा पहाडबाट तराई, अनि तराईबाट काठमाडौ उपत्यकामा घरबास सार्नुलाई जसरी प्रगती र उन्नतीका रुपमा लिइन्छ। त्यस्तो रुपमा लिइँदैन विदेशमा बसाइँ सर्नुलाई। त्यसैले त विदेश जानेलाई ‘पलायन’ भनिन्छ। त्यसैले विदेशमा गरिने बसाइँ सराइँ अर्थात् माइग्रेसनलाई बाध्यता बताउने गरिन्छ।

‘के गर्ने नेपालमा अवसरै छैन’, ‘राजनीति नगर्नेका लागि त यो देशमा केही छैन’, ‘भ्रष्ट्राचार नगर्ने हो भने बाँच्नै सकिन्न’ यस्ता धेरै बाहाना बनाउनु पर्छ विदेश जानका लागि। हुन पनि अवसर कम र चुनौती बढि भएको कारण विश्वविद्यालयका उत्तम विद्यार्थीले विदेशकै बाटो रोज्ने गरेका छन्। राज्यका सबै अंगमा भएको अति राजनीतिकरणले बहुदलिय व्यवस्थामा एउटा दलको कार्यकर्ता नबनी करिअर नै बनाउन नसकिने स्थिती छ। जसका कारण बसाइँ विदेश सार्नेको सँख्या उल्लेख्य हुँदै गएको छ नेपालमा। यतिखेर राज्यका उच्चपदमा बसेका करिब करिब सबैका सन्तानले नेपालको सिमाना काटि सकेका छन्। कारण सबैलाई थाहा छ। विदेशमा सुरुका दुर्इ चार वर्ष दुःख हुन्छ तर आफ्नो क्षेत्रमा करिअर बनाउन सुरु गरेपछि सबै कुराहरु सामान्य हुँदै जान्छन्।
मानिस वास्तवमा जिवनको खोजमा आफ्नो घर, परिवार, समाज, सम्प्रदाय अनि देशको घेराबाट बाहिर निस्कन्छ। मानिसको यो यात्रा सुख, शान्ति अनि प्रगतिको लागि हो। आजको युगमा जुन देशमा आफ्नो ज्ञान, सीप, योग्यता, कुशलताको सम्मान हुन्छ अनि अवसरहरु मिल्छन् मानिसले त्यहीँ आफ्नो डेरा लगाउँछ। माइग्रेसनको सामान्य सिद्धान्त त्यही हो। स्वास्थ्य सुविधाको सहज उपलब्धता एवं शिक्षा र रोजगारीको उपलब्धताका कारण आरामदायी जिवन धेरै नेपालीहरुलाई अष्ट्रेलियाले आकर्षा गर्ने कारण यही नै हो।
पछिल्लो १० वर्षमा अष्ट्रेलिया आउने र यहीँ बसोबास गर्ने नेपालीको संख्या बढ्नुको कारण पनि यही हो। विधिको शासन, स्वतन्त्र न्याय प्रणाली, रोजगारीको सहज उपलब्धता अनि विश्वव्यापी अवसर यही कारण हो विश्वका धेरै देशबाट मानिसहरु अष्ट्रेलिया ओइरने। त्यसमा पनि यो देशले क्षमता भएका विश्वका जो कोहीलाई पनि यहाँ बस्न र काम गर्न दिन्छ, भलै केही प्रक्रिया भने पुरयाउनु चैं पर्छ। अष्ट्रेलियाको स्किल्ड माइग्रेसन प्रोग्राम अर्न्तगत विश्वभरबाट यहाँ पढ्न आउने र परमानेन्ट रेसिडेन्सी (पीआर) लिएर बस्नेहरुको सँख्या उल्लेख्य हुँदै जाँदा नेपालीको पनि संख्या बढेको छ।
अष्ट्रेलियन दैनिक सन्डे मर्निङ हेराल्डले अष्ट्रेलियन तथ्यांक विभागको डाटामा आधारित रहेर तयार पारेको चार्टः
अष्ट्रेलियन तथ्यांक ब्यूरोले सार्वजनिक गरेको पछिल्लो आँकडाले नेपालीहरु अष्ट्रेलियाको उच्च वृद्धिदर भएको आप्रवासी समुदाय रहेको देखाएको छ। विदेशमा जन्मेका निवासीहरु सन् २०१५ मा ऐतिहासिक रुपमा नै उच्च संख्यामा रहेको तथ्यांक र अनुसन्धानले देखाएका छन्। यतिखेर अष्ट्रेलियामा नागरिकता तथा पीआर लिएर बसेका २८ प्रतिशत जनसंख्या विदेशमा जन्मेर अष्ट्रेलिया आएका छन्। यो संख्या सन् १८९५ पछिको सबैभन्दा उच्च हो।
सन् २००५ देखी २०१५ को दशकमा अष्ट्रेलियामा बसाइँ सर्नेहरुमा सबैभन्दा धेरै वृद्धिदर नेपालीको छ। यो १० वर्षमा नेपालीको संख्या ११ गुणाले बढेको छ। सन् २००५ मा करिब ३८०० नेपाली मुलका बासिन्दा रहेकोमा २०१५ मा नागरिकता तथा पीआर लिएर अष्ट्रेलिया बस्ने नेपालीको सँख्या ४३,५०० पुगेको छ।
अष्ट्रेलिया बसाइँ आउने अरु देशका मानिसहरुको तुलनामा नेपालीको सँख्या थोरै भएपनि वृद्धिदर भने वाषिर्क करिब २८ प्रतिशत रहेको छ। नेपालीहरुसँगै पाकिस्तान, ब्राजिल, भारत लगायतकादेशबाट अष्ट्रेलिया बसाइँ आउनेको दर धेरै छ। अष्ट्रेलिया विदेशबाट आप्रवासी भित्र्याउने देशहरुको सूचिमा चौंथो स्थानमा छ।