नेपालीहरू अध्ययन साथै दक्ष जनशक्तिका रूपमा अष्ट्रेलिया आउने र स्थायी रूपमा नै बस्ने क्रम बढेसंगै अष्ट्रेलियाका विभिन्न शहर तथा क्षेत्रमा पुगेकाहरूले सामुदायिक एकजुटता देखाउने क्रम जारी नै राखेका छन्। अष्ट्रेलियाका विभिन्न स्थानमा पुगेकाहरूले आपसी भाईचारा र सरसहयोगका लागी सामुदायिक समुह खोल्ने क्रममा न्यूसाउथवेल्सको क्विनबियनमा बस्ने नेपालीहरूले “नेपाली समाज क्विनबियन” गठन गरेका छन्। समाजले दीपक पाण्डेलाई अध्यक्ष र केदार चापागाईं र सुरेस अम्गाईंलाई उपाध्यक्ष चयन गरेको छ। समाजमा महासचिव राम खड्का, सचिव राजेन्द्र चापागाईं सहसचिव चोलेश्वर तिवारी, कोषाध्यक्ष उमेश नेपाल, सहकोषाध्यक्ष विष्णु कँडेल रहेका छन्। त्यस्तै सदस्यहरूमा सुमिनकुमार भट्टराई, विशाल थापा, प्रकाश भट्टराई, पुष्कर काफ्ले, हेमन्त कुमार श्रेष्ठ, महेश थापा मगर, शरद पोखरेल, रिवाज बराल र अमिर आचार्य चयन भएका छन्।
यो पनि पढ्नुहोस्: माईग्रेसन एजेन्ट छान्दा ध्यान दिनुपर्ने ४ कुरा

राजधानी क्यानबेरासँग जोडिएको स्थान भएकाले अधिकाँश क्विनबियनमा बस्ने नेपालीहरू क्यानबेरामा सक्रिय संस्थाहरूमा आबद्ध भएर त्यतैका गतिविधीमा लाग्दै आएका थिए। क्विनबियनमा बढिरहेको नेपालीहरूको उपस्थितीसँगै स्थानिय तहमा नै संस्थागत रूपमा गोलबद्ध हुन लागेको अध्यक्ष दीपक पाण्डेले बताए। पाण्डेले ‘पीआर’ र ‘रिजनल माईग्रेसन’का कारण क्विनबियनमा बस्ने नेपालीको संख्या बढेसँगै पर्ने समस्याहरूमा हातेमालो र नेपाली परम्परा संस्कृतीको संबर्धनका लागी संस्थागत सक्रियताको आवश्यकता परेकाले संस्था गठन गरेको बताए।
संस्थाका उपाध्यक्ष केदार चापागाईंले क्विनबियन क्षेत्रमा बस्ने नेपालीहरूको भाईचाराका लागी सामुहिक रुपमा खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू गरिएको बताए। फुटबल, क्रिकेट जस्ता खेल गतिविधी क्लबको रूपमा नै अगाडी बढाउने, मानसिक स्वास्थ्य, अभिभावक मिलन, बालबालिकालाई नेपाली संस्कार संस्कृतीको हस्तान्तरण लगायतका क्षेत्रमा संस्थाले काम गर्ने बताईएको छ। उपाध्यक्ष चापागाईंले कोरोनाको समयमा विशेष गरेर समुदायको हात र साथको महशुस भएका कारण संस्थागत रूपमा नै अगाडी बढ्न लागेको बताए।