अष्ट्रेलियाले यसै साल अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने, नेपाली आउन पाउलान्?

अष्ट्रेलियामा कोरोना भाईरस विरूद्धको खोप लगाउने क्रम प्रभावकारी रूपमा अगाडी बढ्दै गर्दा सरकारले अन्तर्राष्ट्रिय  सीमाना र आवगमन खुलाउने रणनीतिलाई कार्यरूप दिने चर्चा चुलिँदै गरेको छ। त्यसै क्रममा आज अष्ट्रेलियनहरूलाई बिदा मनाउन विदेश जाने देखी अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलिया ल्याउने सम्मका विषय सरकारी अधिकारीको आधिकारिक जानकारीका रूपमा सार्वजनिक भईसकेका छन्।

यसै क्रममा अन्तर्राष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलिया ल्याउने विषयले सार्वजनिक मंच पाएको छ। आजको सिड्नी मर्निङ हेराल्डले अष्ट्रेलियाको न्यू साउथवेल्स राज्यले यहि वर्षको अन्त्यसँगै अन्तर्राष्ट्रिय विद्यार्थीहरू राज्यमा आउन थाल्ने तर चीन र नेपालका विद्यार्थी आउन पाउने संभावना भने कम रहेको उल्लेख गरेको छ। (समाचार यहाँबाट पढ्नुहोस्)

यो पनि पढ्नुहोस्: अष्ट्रेलिया आउन आतुर हुँदा गलत निर्णय लिईएला है

अष्ट्रेलियाले यसै साल अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने, नेपाली आउन पाउलान्? - Katuwal.com

न्यू साउथवेल्सका कोषाध्यक्ष (ट्रेजरर) डोमिनिक पेरोटेटलाई उदृत गरेर तयार पारिएको समाचारमा डेल्टा भाईरसको प्रकोप पछि राज्यको अन्तर्राष्ट्रिय उच्च शिक्षा क्षेत्रलाई पुन: सुचारू गर्नको लागी तयार पारिएको रणनीति अनुसार सरकारले योजनालाई मूर्तरूप दिएको उल्लेख छ। न्यू साउथवेल्सले एक वर्ष देखी अन्तर्राष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलिया आउने दिनको लागी रणनीतिक योजना बनाईरहेको थियो। पछिल्लो समय अष्ट्रेलिया र न्यू साउथवेल्समा बढेको कोरोना बिरूद्धको खोप लगाउने क्रमसँगै अष्ट्रेलिया कोरोनाको प्रकोपपछी फेरी सुचारू हुने क्रममा छ। त्यस क्रममा खोप लगाउनेको संख्या निक्कै उच्च रहेको  न्यू साउथवेल्समा ८३ प्रतिशत भन्दा बढीले कोरोनाको पहिलो खोप र ५५ प्रतिशत भन्दा बढीले दुवै खोपको मात्रा पाईसकेका छन्। राज्यमा २२ फेब्रुअरी यता ९२ लाख भन्दा बढी खोपको मात्रा लगाईसकिएको छ।

न्यू साउथवेल्सका विश्वविद्यालय साथै ठूलै जनसंख्या व्यवसाय तथा रोजगारीका लागी अन्तर्राष्ट्रिय विद्यार्थीमा निर्भर छन्। विश्वविद्यालयहरूले गत वर्ष देखी नै अन्तर्राष्ट्रिय विद्यार्थीलाई सुरक्षित तवरबाट अष्ट्रेलिया ल्याउनका लागी सरकारसँग मिलेर योजना बनाईरहेका थिए। विशेष गरेर अष्ट्रेलियाले खर्चालु र धनी देशका विद्यार्थी ल्याउनको लागी जोड दिईरहेको छ। जसमा सिंगापुर, थाइल्याण्ड, अमेरिका, मलेशिया, हङकङ, जापान लगायतका मुलुकहरू छन्।

यद्यपी न्यू साउथवेल्सका कोषाध्यक्ष (ट्रेजरर) डोमिनिक पेरोटेटले चीन र नेपालका विद्यार्थी समेत ल्याउनका लागी पहल जारी रहेको उल्लेख गरेको सिड्नी मर्निङ हेराल्डको समाचारमा उल्लेख छ।

यी चार खोप लगाउनेहरू आउन पाउँछन् अष्ट्रेलिया

अष्ट्रेलियाको बहुसंख्यक जनसंख्याले कोरोनाको खोप पाईसकेपछी अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमाना खोल्दा अष्ट्रेलियाले मान्यता दिएका खोप लगाउनेहरू प्राथमिकतामा पर्नेछन्। सुरूमा अष्ट्रेलियाले अहिले मान्यता दिएका सिमित खोप लगाउनेले मौका पाउने भएपनि अष्ट्रेलियाले मान्यता दिने खोपको संख्या बढ्ने आशा गर्न सकिन्छ। अहिलेको लागी भने अष्ट्रेलियाको औषधी नियामकले स्वीकृत गरेका फाईजर, जोन्सन एण्ड जोन्सन, मोडर्ना र अष्ट्राजेनिका खोप लगाएकाहरू प्राथमिकतामा पर्नेछन्। अहिले सार्वजनिक भएको भनिएको अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागी यी खोपको पुरै मात्रा लगाएको हुनुपर्ने भनिएको छ।

अष्ट्रेलियाले लामो समय सम्म आफ्नो सीमा बन्द राख्दा विदेश पढ्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरू क्यानडा तथा वेलायत तर्फ आकर्षित हुने डर पनि अष्ट्रेलियालाई छ। त्यसकारण पनि अष्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीका लागी सीमा खोल्नै पर्ने दबावमा छ। त्यसो त अन्तर्राष्ट्रिय शिक्षा एउटा महत्वपूर्ण निर्यात भएका कारण यसैमा निर्भर धेरै व्यवसाय छन्। सन् २०१९ को तथ्यांक अनुसार अष्ट्रेलियाको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय विद्यार्थीको योगदान ३७ दशमलव ६ बिलियन डलरको योगदान छ। त्यसमा न्यू साउथ वेल्सको भागमा मात्रै १४ दशमलव ६ बिलियन डलर पर्दछ।

यो पनि पढ्नुस्: अष्ट्रेलिया अध्ययन प्रष्ट हुनुपर्ने कुराहरु

नेपाली विद्यार्थी आउन पाउलान् त छिट्टै?

अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलियालाई दुई हिसाबमा अहिले एकदमै चाहिएको छ, पहिलो अष्ट्रेलियाको रोजगारी सृजना, यहाँका विश्वविद्यालय चलाउने भनेको नै अन्तर्राष्ट्रिय विद्यार्थी हुन्। उनीहरूले विदेशबाट ल्याउने पैसा मात्र नभएर उनीहरूकै कारण अष्ट्रेलियामा धेरैको व्यवसाय तथा रोजगार चलेको हुन्छ। दोस्रो कारण हो, अष्ट्रेलियामा यतिखेर काम गर्ने मानिसको पनि ठूलो अभाव छ। यतिखेर अन्तर्राष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलियाले सकेजति काम गर्ने छुट दिएको छ, जुन साधारण अवस्थामा २० घण्टा मात्र हो। अष्ट्रेलियाको कृषि देखी पर्यटन तथा आतिथ्य क्षेत्र तहस नहस भएको छ र काम गर्ने मानिसहरूको ठूलो संकट छ। अष्ट्रेलियाका ठूला शहरमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू ‘पीआर’ पाउने आशामा ‘रिजनल’ गएका छन् जसले गर्दा ठूला शहरहरूमा रेष्टुरेन्ट, होटल, सफाई लगायतका क्षेत्रमा काम गर्ने मानिसको पनि ठूलो अभाव छ।

यी आर्थिक दबाबसँगै कतै अन्तर्राष्ट्रिय विद्यार्थीहरू प्रतिष्पर्धि मुलुक वेलायत र क्यानडा तिर जाने त हैनन् भन्ने पनि छ। अष्ट्रेलिया जस्तै अन्तर्राष्ट्रिय शिक्षा निर्यातको ठूलो व्यवसाय रहेका दुई मुलुकले अन्तर्राष्ट्रिय विद्यार्थीका लागी आफ्नो सीमा खुला गरिसकेका छन्। त्यसैले अष्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलिया आउन दिने पक्षमा उभिनै पर्ने छ। तर अष्ट्रेलियाले सुरूमा खर्चालु र विकसित देशका विद्यार्थीलाई पहिलो प्राथमिकता दिने चाहिँ पक्का छ। जुन आजको समाचारले पनि संकेत गरिसकेको छ। चीनसँग कुटनीतिक अनेक विषय छन् भने नेपाल कोरोना संक्रमणको जोखिम धेरै भएको देश हो। त्यसैले नेपालबाट छिट्टै विद्यार्थी आउन पाईहाल्ने (कोरोना सुरू हुनु भन्दा अघि २०१९को जस्तै) अवस्था अहिले नै हुने देखिन्न। तर, विद्यार्थी, उसले पढ्ने विश्वविद्यालय  र आर्थिक व्यवस्थापनको पक्षलाई हेरेर अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई सन् २०२२ भित्रै अष्ट्रेलिया आउने र पढ्ने अवस्था चाहिँ पक्कै सृजना गर्ने आशा गर्न सकिन्छ।

नेपालमा कोरोनाको जाँच, खोप लगायतका विषयमा भएको हेलचेक्र्याईंको कारण अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई सहजै ढोका खोलिहाल्ला भनेर योजना बनाउनु चाहिँ हतार हुनसक्छ। केही कन्सल्टेन्सी वा तीनको संगठनको ‘लविङ’ले तत्काल विषयलाई सहज बनाईहाल्छ भन्न सकिँदैन। तर, अष्ट्रेलिया विशेष गरेर न्यू साउथवेल्सका प्रतिष्ठित विश्वविद्यालयमा भर्ना भएर अनलाईन पढिरहेकाहरूको लागी भने यो समाचार आशाको संचार गर्ने हुनसक्छ। पहिलो प्राथमिकतामा उनीहरू पर्ने आशा गर्न सकिन्छ।

लेखक: मदनमणि

अष्ट्रेलियाको सिड्नीमा बस्ने मदनमणिसँग मिडिया, फोटोग्राफी र डिजिटल मार्केटिंगको अनुभव छ। अष्ट्रेलिया आउनु अघि उनी अन्नपूर्ण पोष्ट दैनिक पत्रकारिता पेशामा आबद्ध थिए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ