आख़िर के रैछ त अष्ट्रेलियन ज़ीन्दगी?

 केही दिन अघि देखी सामाजिक संजालमा धेरैले सेयर गरेको एउटा पोस्टका विषयमामा लेख्न मन लागेको र जरूरी पनि देखिएकाले यो लेखोट अघि आएको हो

 

‘आखिर केनै रैछर, अष्ट्रेलियाको जिन्दगी, पेलान काम गरयो अलिअलि पैसा कमायो, पीआर बनायो गाडी किन्यो, बिहे गरयो, दुई चार जना मान्छे बटुलेर बेबी सावर भन्दै बेलुन पड्कायो…..’

आख़िर के रैछ त अष्ट्रेलियन ज़ीन्दगी? - Katuwal
तस्वीर: फेसबुक/ नेपलीजईनसिड्नीग्रुप

अष्ट्रेलियाका नेपालीहरूको सामाजिक संजालको झ्यालबाट देखिने र बाहिरकाले अनुमान लगाउने जिन्दगीका विषयमा लेखिएको यो पोस्टले आंशिक सत्य बोलेपनि अलिक निराशाबादी सोच झल्काउँछ। हामी धेरै नेपालीहरू अष्ट्रेलिया जीवन केही सहज हुन्छ, ‘क्वालिटी लाईफ’ ‘अफोर्ड’ गर्न सकिन्छ भनेर आएका हौं। र, त्यो अष्ट्रेलियामा सहजै हासिल हुने कुरा पनि हो। केही अपवादलाई छोडेर नेपालबाट सपना, फ्रस्टेसन र गोजीमा केही सय डलर मात्र बोकेर हामी अष्ट्रेलियाका विभिन्न विमानस्थलमा झर्दछौं। धेरैलाई अष्ट्रेलियाको पढाई, खर्च अनि छिचोल्नुपर्ने अनेक हण्डर र हैरानीका ’boutमा थाहै हुँदैन। कति त ‘कन्सल्टेन्सीको दाई’को कुरा र भरमा आएका हुन्छौं। आएपछी जे जस्तो संगत र संजाल छ त्यसै अनुसार काममा लाग्छौं अनेकन टिरिक लगाएर पास हुने, फि तिर्ने चाहिँ गर्छौं, आखिर बस्नु जो छ अष्ट्रेलियामा। कति अष्ट्रेलियामा नै जम्ने बाटोमा लाग्छौं त कति ‘स्टुडेन्ट भिजा’ तन्काउने र ‘पार्टि’, ‘बार्बिक्यू’ र ‘बार्बी’हरूको रमझममा नै जिवनका अनेकन वर्षहरू रमझममा नै काटिरहेका हुन्छौं। आफ्नो सर्कल अनुसारको जीवन र विश्वदृष्टि बन्नु स्वभाविक हो त्यसैको अभिव्यक्ति आएको हो सामाजिक संजालमा। अहिले मैले उदृत गरेको फेसबुकको पोस्टका ’boutमा यही भन्छु, तपाईंले अष्ट्रेलिया बुझेकै छैन, दृष्टिकोण र धारणालाई अलिक मैदानी पाराले हेर्नुस्। दृष्टिकोणलाई फराकिलो र बृहद बनाउन जरूरी छ।

 

अष्ट्रेलियन जीवनशैली मुस्किलै हो त?

हो पनि र हैन पनि 🙂 अष्ट्रेलियाको जीवनशैली नेपालको भन्दा मुस्किल चाहिँ हैन तर निक्कै फरक चाहिँ छ। त्यसैले त्यसमा ‘एडजस्ट’ हुनको लागी मुस्किल परेको हो वास्तवमा। सिधै भन्दा अष्ट्रेलिया र नेपालको तुलना गर्नु हाम्रो सबैभन्दा ठूलो भूल हो। यी दुईको तुलना नै हुन सक्दैन। फरक विश्वदृष्टि र दर्शन बोकेका दुई देशले हामीलाई दिने कुराहरु पनि उनीहरूको धार्मिक, सामाजिक र आर्थिक ‘लाईन’ जस्तै फरक छ। त्यसैले तुलना गर्न छोड्नुस्। अष्ट्रेलियाको जीन्दगी रमाईलो लाग्छ। अंगुर अमिलो भनेझैं नगर्ने हो भने अष्ट्रेलियामा नेपाली युवाहरूले ती सबै कुराहरू सहजै पाउन सक्छन् जुन नेपालमा पुर्ख्यौली सम्पत्ति टन्नै नहुनेले सात जुनी सम्म कल्पना पनि गर्न सकिँदैन। देश र समाजको दृष्टिकोण आर्थिक र सांस्कृतिक कारणले फरक हुने भएकाले अष्ट्रेलियाको जीवनशैली र काम गर्ने तरिका पनि फरक छ नेपाल भन्दा त्यसैले हामी धेरैलाई यो नमिलेको हो। अर्को कुरा नेपालमा जस्तो खालको काम वा जागिरको अपेक्षा गरिएको हुन्छ अष्ट्रेलिया आउँदा भाषा तथा सिपको कारण त्यो हाँसिल नहुनाले पनि अलिकता नैराश्य देखिएको हो। जुन आर्थिक अवस्था सबल हुँदै जाँदा मिल्दै जान्छ। अष्ट्रेलियाको बजार अनुसारको सीप वा आफ्नो सीप अनुसारको अपेक्षा राख्नासाथ अष्ट्रेलिया रमाईलो लाग्दछ।

अष्ट्रेलिया ‘व्यक्तिवादी’ समाज भएकाले हामी नेपालको ‘समाजवादी’, ‘आदर्शवादी’ समाजबाट आउँदा यहाँका चलन र शैली अलिकता पचाउन गाह्रो भएको हो।

‘एज्ड केयर’ नेपालको सन्दर्भमा नयाँ कुरा हो। नेपालमा ठूलो परिवारसँगै बस्ने र हजुरआमा हजुरबुबाको साथमा नातीनातीना हुर्कने एउटा अनुपम संस्कारबाट आएको हुनाले यसलाई पचाउन अलिक मुस्किल परेको हो। उमेर पुग्दै गएकालाई छटपटी पनि भईरहेको हुन्छ यो सम्झेर। भक्कानै छुट्ला जस्तो। तर, यसका विकल्प पनि छन्। र, नेपालमा नयाँ शिक्षा, व्यवस्था र अर्थनीति ल्याएपछी पछिल्लो ३० वर्षमा हजुरआमा हजुरबुबाको साथमा नातीनातीना हुर्कने एउटा अनुपम संस्कारमा क्षय आउँन थालिसकेको छ। अंशका लागी बा-आमाको हत्यासम्म गर्न पछि नपर्ने घटनाहरू समाचारमा आउन थालेका छन् भने पाका बा-आमालाई सडकमा छोड्ने, वृद्धाश्रममा लैजाने गरेको पनि प्रसस्तै सुनिन्छ। त्यसैले अष्ट्रेलियाको ‘एज्ड केयर’ प्रणालीलाई सुरक्षित बृद्धावस्थाको सुविधाको रूपमा बुझ्नु नै सही हुनजान्छ।

 

ऋणको घर

अष्ट्रेलियामा घर किन्ने सबाल आउँदा धेरैले ३० वर्षको ऋणको कुरा उठाएको देखिन्छ। यसलाई मुस्किलको रुपमा लिनु कुनै जरूरी नै छैन। नेपालीमा भनाई नै छ, बिहे गर्दा र घर बनाउँदा ऋण लाग्नु स्वभाविक नै हो। हुनपनि यी दुईलाई नेपाली समाजले परिवक्वता तर्फको महत्वपूर्ण खुड्कला मानेको छ। त्यसैले यति वर्ष वा उति वर्षको ऋण लिएर घर लियो भनेर काखी बजाउनुको कुनै तुक छैन। यसमा पनि ध्यान दिनुपर्ने कुरा के हो भने बैंकले यत्तिकै सात आठ लाख डलरको ऋण दिँदैन। पीआर वा सिटीजन हुँदैमा झ्याप्पै ऋण दिने र घर किनिहाल्ने भन्ने होईन, धेरै घर किनिसकेकालाई वा किन्न भनेर बैंक गएकालाई थाहा भईसकेको कुरा हो। अष्ट्रेलियाको घरको रमाईलो कुरा के हो भने यहाँ घर ऋण पछी तिर्ने गरेर किनेर बस्न थालिन्छ, तर नेपालमा पहिले कमाएको संचय गरेर नपुगेको ऋण धन गरेर बनाईन्छ। अष्ट्रेलियाको अलिकता ‘पोस्टपेड’ जस्तो र नेपालको ‘प्रिपेड’ जस्तो हो। पुर्ख्यौली सम्पत्ति र बाआमाबाट अंशमा राम्रै जग्गा जमिन नभएकाले नेपालमा घर बनाउन चालिस नै कट्नुपर्छ। आफ्नै कमाईको बलमा घर बनाउन सकिने चाहिँ अष्ट्रेलियामा नै हो धेरै सन्दर्भमा :)। त्यसैले ३० वर्षे लोनको घर भनेर भन्नुको खास तुक छैन। (भाडामा बस्नुभन्दा घर किन्दा धेरै काईदा र फाईदा छ, म यसमा अनुभवी नि भएकाले कसैलाई सल्लाह सहयोग चाहिए सम्पर्क गर्दा पनि हुन्छ 🙂 )

बेबी  सावर र बा-आमा

बेबी सावर गरयो। भुंडी देखायो भनेर उडाउने एकखालको समुह पनि छ 🙂 यो खासमा व्यक्तिको जीवनको अमुल्यपल हो र त्यसलाई ‘सेलिब्रेट’ गर्ने स्वतन्त्रता सबैलाई छ त्यसको सम्मान नेपाल र जहाँ जहाँ बसेका भएपनि नेपालीहरूले गर्न सिक्नु जरूरी छ। बिहे वा दशैंको टीकाको समयमा श्रीमतीले श्रीमानलाई ढोगेको फोटोको पक्षमा संस्कार र सभ्यता भनेर जसरी कुर्लन्छौं जोईपोईको माया प्रेम, उनीहरूको सम्बन्ध र ‘सेलिब्रेसन’हरूका पक्षमा पनि उभिनु तर्कसंगत हुनजान्छ।

बा-आमालाई बच्चा हेर्ने धरालो बनाउन मात्र अष्ट्रेलिया ल्यायो। ‘तेल भिषा’ भनेर उडाउनेहरू चाहिँ ‘तोरी’ नै हुन् भन्दा फरक नपर्ला। ‘साउँको भन्दा ब्याजको माया’ भन्ने भनाई हाम्रै समाजको हो। हामी अधिकांश हजुरबा, हजुरआमाको काखमै हुर्केका हौं। हजुरबा, आमाबाट लोककथा सुनेर हुर्केका हामीले आफ्ना सन्तानलाई पनि त्यो अवसर दिनु सही नै हो। यसले संस्कार, संस्कृती सँगै परिवार र नेपाल प्रति नयाँ पुस्तालाई जोड्ने नेतीको काम गर्छ। तर, बा-आमालाई अष्ट्रेलिया ल्याउनेले उहाँहरूको स्वास्थ्य, आराम र चाहनाको सम्मान गर्नैपर्दछ।

 

१० वर्षमा तीनवटा घर, १०-१५ करोडको सम्पत्ति जोड्न सजिलो हुन्छ त?

 

अष्ट्रेलियामा सजिलो छैन भन्नेमा कुनै फरक मत नै रहेन। अष्ट्रेलियाको सम्पन्नता हाम्रालागी अक्करमा फलेको फल हो। अप्ठेरो छ तर धेरैले हासिल गरिरहेका छम् 🙂  सामाजिक संजाल भन्दा पर बसेर दुई सिफ्ट हान्दै ‘चालिस कटेसी रमाउँला’ भन्नेहरू टन्नै र प्रसस्तै छन्। जसले यो वा त्यो यसरी वा त्यसरी नभनी उमेरमा नै पहिले आर्थिक जोहो गरम। अर्थतन्त्र सही भएपछी व्यवसाय गरेर टाईसुट लगाउने दिन आईहाल्छ भनेर करिअर हैन ‘प्रोपर्टी प्रोफाइल’ बनाई रहेका छन्।

गोजीमा ५०० डलर, दुईटा सुटकेस र मनभरी फ्रस्टेसन बोकेर अष्ट्रेलिया झरेको १० वर्षमा नेपालीहरूले तीनवटा घर जोडेको देख्नु सामान्य भईसकेको छ। 🙂 (मिलाउन जानेको खण्डमा यो त्यति धेरै मुस्किलको कुरा होईन रहेछ भन्ने प्रत्यक्ष देख्ने मान्छे म पनि एउटा छु) जुन नेपालकै हिसाबले गणित गर्ने हो भने पनि १० देखी १५ करोड जतिको सम्पत्ति हुनजान्छ। त्यसमा भलै छ देखी आठ करोड जति बैंकको हिस्सा होस् यो चानचुन कमाई र व्यक्तिगत अर्थतन्त्र होईन। १० वर्षमा एउटा आम नेपाली युवा दम्पत्तिको जोरजाम कम हैन। र, यस्तो व्यवस्था बनाउन सजिलो त पक्कै हुँदैन। पहिलेको तिती पछीको मिठो भनेर लक्षमा समर्पित हुनेका लागी मात्रै ‘अचिभेवल’ चिज चैं हो।

 

(उल्लेखित कुरा व्यक्तिगत अनुभवका आधारमा आएका हुन्, व्यक्तिको योजना, संगत र प्राप्त परामर्श साथै आर्थिक, सामाजिक, संरचनागत अवयवहरूले आमदानी, उपलब्धीहरूलाई प्रभावित पार्दछन्। उल्लेखित कुरा प्राप्त गरेकाहरूले फुर्कंदा फरक परेन, हासिल गर्न नसकेकाहरूले पनि कमजोर ठान्नु पर्दैन किनकी सबैको धरातलिय यथार्थता एकै हुँदैन। अष्ट्रेलियामा आईसकेपछी तपाईंको जीवन पक्कै पनि सम्पन्नता, सकारात्मक प्रगती तर्फ पक्कै उन्मुख भएकै छ)

लेखक: मदनमणि

अष्ट्रेलियाको सिड्नीमा बस्ने मदनमणिसँग मिडिया, फोटोग्राफी र डिजिटल मार्केटिंगको अनुभव छ। अष्ट्रेलिया आउनु अघि उनी अन्नपूर्ण पोष्ट दैनिक पत्रकारिता पेशामा आबद्ध थिए।

एक जनाको प्रतिक्रिया

  1. I think Property should not be the only criteria to define success.
    I have many friends and myself, working in a good job and making career progress, but does not have property.

    Overall, your article is positive and I liked the way you explained it

    Regards,
    K.P.

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ