एउटै खाटको २४ लाख ! कस्तो हुन्छ त सुत्दा?

हामी नेपाली जहाँ पुगेपनि यसो हरहिसाबको कुरा आयो भने गणित चैं नेपालीमा नै गर्छौं, बजार र खरिदारीको कुरामा पनि त्यही नै हो। आजको मूल्यमा २४ लाख नेपाली पर्ने खाट अर्थात् बेड को विषय उठान गरेको छु। नेता देखी राजाका खाट र सोफाको चर्चा भईरहेको सन्दर्भमा यो सामयिक नै होला ! 

 

खाट, पलंग, बेड भन्ने र जनाउने शब्दमा फरक भएपनी यसको हाम्रो आवश्यकता भने एउटै हो। आराम गर्न चाहिन्छ, सिधा शब्दमा भन्ने हो भने सुत्नको लागी बनाईएको एक खालको फर्निचर हो पलंग। सुत्ने खाट वा पलंग भनेर खाली काठको एउटा संरचना मात्र बुझिँदैन त्यसमा सिरक, डसना अनि सिरानी साथै खाटका दुवै तर्फ राखिने बत्ति साथै ति बत्ति राख्नको लागी प्रयोग हुने टेबल लगायतका सेट नै बुझिन्छ। सिरक डसना पनि आजकल हामीले आम रूपमा बुझ्ने भन्दा धेरै फरक आउन थालेका भए। तिनलाई जनाउने शब्द र भाव जस्तै मूल्यमा पनि आकाश जमिनको फरक हुने नै भयो के रे !

प्रकृति भन्नुस् वा भगवान जसले बनायो हरेक २४ घण्टामा सात आठ घण्टा सुत्नकै लागी बनायो भन्दा हुन्छ। दिन र रातको चक्करमा हाम्रो जिवनको अत्यावश्यक पल सुतेर बिताउने खाटमा पनि गच्छे अनुसारको सुविधा र आरामको व्यवस्था हुने नै भयो। आर्थिक सम्पन्नताको आधारमा खाने लाउने सँगै सुत्ने कुरामा पनि फरक त हुने नै भयो। त्यसैले त धनाढ्य भनिएकाहरूको कोठा र सयन कक्षको कुरा हुन्छ। उही सुत्ने कुरा पनि ‘सुकला होईबक्सने’ अवस्था बन्छ। मूल्य र सुविधाका आधारमा ‘डिजाईनर’ अनि ‘विशिष्ठ’ बन्छ त्यही खाट।

सानोमा परम्परागत नेपाली चार खुट्टे खाटलाई ‘खाट’ र बुट्टावाला चिल्लो रंगमा आउन थालेको आधुनिकवालालाई  ‘बेड’ वा ‘पलंङ’ भनेरै ठूला भएका हामी धेरै नै छौं। ‘डबल’ ‘सिंगल’ त आकार र कतिजना सम्म सुत्न मिल्ने भन्ने कुरा भए के रे !

बेला बेलामा नेपालमा नेताहरूको बिलासी जिवनको कुरा आउँदा सोफा देखी खाट सम्मको कुरा हुन्छ। प्रचण्डले दुई कि कती लाखको ‘पलंग’ किने रे भन्ने कुराले त राष्ट्रिय राजनीतिमा ठूलै तरंग ल्याएको हो। अनि आफैले देखेको प्रसंग पनि यही खाटको विषयमा सुनाउँछु एउटा। नारायणहिटी राजदरबार राजा ज्ञानेन्द्रको बहिर्गमन पछी सर्वसाधारणको लागी खुलेको बेला घुम्न जाँदा एकजना महिलाले राजा ज्ञानेन्द्रको ‘सयन कक्ष’मा देखेपछी थाम्नै नसकेर भनिन, ‘राजा नि काठकै खाटमा सुत्ने त रछ नि!’ राजा ज्ञानेन्द्र सुत्ने गरेको खाट सामान्य नै थियो, अहिले गएर पनि हेर्न सकिन्छ। माओवादी अझ भनौं नेकपा एमालेवाला समेत जोडेर त्यतिबेलाका कम्युनिष्टहरूले गाउँगाउँमा राजाहरू सुनको खाटमा सुत्छन् भन्ने ‘प्रपोगाण्डा’ नै चलाएका थिए त्यसैको प्रभाव हुनसक्छ ति महिलाको कुरा।

जे होस् खाटको प्रसंगमा यि कुरा जोडिए पनि यसको मूल्यले ल्याउने तरंग चाहिँ गजब कै छ। नेताहरू बिलासी भए भन्ने प्रसंगमा भने यसलाई उछालिनु स्वभाविकै मान्नुपर्छ।

 

 

नेपालमा समय समयमा चर्चा हुने खाटको प्रसंग र मूल्यको कुरालाई केही समय अघि आफै खाट किन्नको लागी जाँदाको प्रसंगसँग जोड्न मात्र खोजेको हुँ मैले चाहिँ।

घर किनेपछी एक सेट फर्निचर नयाँ नै हाल्नुपर्छ भन्ने चाहिँ अष्ट्रेलियाका नेपालीमा मात्रै बसेको अवधारणा पक्कै होईन। सर्वव्यापी नै भएकाले नयाँ बासस्थानका लागी नयाँ आवश्यकताका साधन खरिद गर्ने क्रममा ‘बेडरूम’ अब सयन कक्ष भनेनि भयो सुत्ने कोठा भनेपनि भयो। त्यसका लागी फर्निचर किन्ने पालो आयो। त्यसै क्रममा विभिन्न पसल चहार्ने क्रममा खाटको मूल्य पनि फरक फरक नै भेटिए। त्यसमध्ये आफूलाई ‘हैट धेरै नै हो यार’ भन्ने लागेकाले एउटाको फोटो चाहिँ खिचेर नै ल्याईयो। यो नै सबैभन्दा महँगो भन्ने चाहिँ होईन, अरूपनि होलान् मैले हेर्दै जाँदा सामान्य नै देखिने तर मूल्य चैं ‘कडा’ लागेकोले यसको फोटो लिएँ, ट्राई गरें र अहिले त्यसै विषयमा लेख्दै छु। मूल्य लेखिएको थियो २६,६९९ ठ्याक्कै आजको नेपाली रूपैंयासँगको हिसाबमा २४ लाख चानचुन। यसमा खाट भनेर एउटा खाट मात्र हैन बेडरूमको सेट भनौं खाटको सेट नै आउने हुन्छ। अझ केही थप्ने हो भने मूल्य त्यसै हिसाबले माथि जान्छ।

कस्तो हुन्छ त सुत्दा?

अष्ट्रेलियामा सामान किन्दाको काईदा भनेको पैसा हालेर घरमा ल्याउनु अघि राम्रैसँग ‘जाँच’ भनौं ‘ट्रायल’ गरेर ढुक्क भएर ल्याउन पाईन्छ त्यो यस्ता खाटमा नि लागु हुन्छ। त्यसैले ‘स्टोर’मा गएर हेर्ने, जाँच्ने परख गर्ने अनि किनेपछी सामान चाहिँ घरमा अन्तै (भण्डार/वेयरहाउस)बाट घरमै पुरयाईदिने (डेलिभरी)को चलन चलेको होला। त्यही अवसरको प्रयोग गरेर २४ लाखको खाटमा सुत्दाको अनुभव पनि लिईयो। घरमा ठिक ठिकैको खाटको सेट भएकाले पनि हुनसक्छ २४ लाखवाला चाहिँ अलिक बढी नै आरामदायी लाग्यो। दुईजना सुतेकोमा एकजना चल्दा वा उठेर बाहिर जाँदा पनि अर्कोलाई थाहै नहुने गरेर डिजाईन गरिएको हुने रहेछ यस्ता खाट चाहिँ। नत्र हामीले सामान्य रूपमा घरमा प्रयोग गर्ने खाटमा चाहिँ सुतेका दुई मध्ये एक चल्दा उठेर निस्किँदा अर्कोलाई थाहा हुने गरेर झट्का वा हल्लिने हुन्छ। त्यो ‘मेट्रेस’को कारण पनि हुने हुनसक्छ। नत्र खाटको ‘फ्रेम’ भन्दा महँगो ‘मेट्रेस’ नहुन पर्ने। खैर यसविषयमा विज्ञ चैं हैन म। तर मूल्य अनुसारको ‘कम्फर्ट’ चाहिँ यस्तो खाटमा हुन्छ नै। आफ्नो खरिदारीमा चाहिँ यो तस्वीरमा उल्लेख भएको भन्दा सस्तो तर राम्रो राम्रै खालको खाटको सेट किनेर त्यसमा सुत्न थालेपछी चाहिँ मैले पहिले सुत्ने गरेको ठिकै खालकोमा भन्दा धेरै नै आराम महशुस गरें। दाम र निर्माण राम्रो भएका खाटमा सुत्दा चाहिँ निन्द्रा छिट्टै पुगे जस्तो महशुस हुने रहेछ।

 

यसरी हेर्दा देशका विषयमा साँच्चै चिन्ता लिने र निर्णायक पदका व्यक्तिहरूलाई चाहिँ सुत्नको लागी गतिलै खाटको व्यवस्था गरिनु सही हुने रहेछ। त्यसैले हामी नेपालीहरूले नेताका खाट भन्दा पनि उनीहरूको निर्णय र निर्णय क्षमताका सन्दर्भमा खोजबिन गर्नु उत्तम हुन्छ।

 

लेखक: मदनमणि

अष्ट्रेलियाको सिड्नीमा बस्ने मदनमणिसँग मिडिया, फोटोग्राफी र डिजिटल मार्केटिंगको अनुभव छ। अष्ट्रेलिया आउनु अघि उनी अन्नपूर्ण पोष्ट दैनिक पत्रकारिता पेशामा आबद्ध थिए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ