अष्ट्रेलिया आउन आतुर हुँदा गलत निर्णय लिईएला है

नेपालमा १२ को जाँच हुने बेलामा र सकिएको दिन अष्ट्रेलियाका कलेजहरूमा विद्यार्थी भर्ना गर्ने एजुकेशन कन्सल्टेन्सीहरूको चहल पहल बढी नै हुन्छ। बधाईसँगै अष्ट्रेलियाका लागी यसरी तयारी गरौं भन्ने कुरा त भई नै हाल्यो। साथै पीटीई र आईएलटीएसको तयारी कक्षाहरूको सुविधा, शुल्क सँगै भिजा र कलेज अनि कोर्सको भरपुर विज्ञापन हुन्छ।

मिल्ने नमिल्ने सबै कुरा गरेर ‘लिड’ त बटुल्न परयो भन्ने ध्याउन्न रहेका कन्सल्टेन्सीका मार्केटिंगका कर्मचारीले फेसबुकमा फेक एकाउन्ट चलाएर नक्कली कुरा गर्ने त पुरानै कुरा भयो, आजकल त नक्कली दुलाहा दुलही खोजेर झक्कासको नक्कली बिहे नै गराईदिन्छन्। भिजाको लागी। डिपेन्डेन्टको व्यापार कम्ता फस्टाएको छैन। अनि चलाखहरूले त डिपेन्डेन्टमा लान्छु भनेर ४० देखी ५० लाख रकम नै कुम्ल्याएर हिँडेको देखेको संख्या नै गन्ने हो भने पनि १०-१५ वटा पुगिसक्यो। अस्ति भरखर एकजना युवकले नेपालबाट मेसेन्जरमा फलानीले बिहे गरेर डिपेन्डेन्टमा अष्ट्रेलिया लैजान्छु भनेर मेरो ५० लाख खाई भनेर बिहे, घुमघामको फोटो, पैसा लेनदेनको कागजात आदी ईत्यादी पठाएका छन्। त्यसले पार्ने संकट र क्षति पक्कै व्यक्तिगत जिवनमा धेरै हुनुपर्छ।

अष्ट्रेलिया आउने योजनामा हुनुहुन्छ भने नेपालीपेज पढ्न नबिर्सनुस् 

यता फेरी हिजो मात्र कुशल केसीले यस्तो स्टाटस हालेको देखियो।

Intention: fly to australia on March 2021 आतंक !!

I am getting many inquiries from students and parents as this kind of posts are being circulated around.

My answer is राम जाने 😜

Posted by Kushal Oe on Wednesday, December 9, 2020

नेपालीहरूको अष्ट्रेलिया आउने चाहनालाई ‘क्यास’ गर्न फेसबुकमा अपत्यारिला कुरा ‘सेयर’ गरेर ‘ईनबक्स’मा बोलाउनेको बिगबिगी चाहिँ कुशल केसीले भने जस्तै छ। जसले उनीजस्ता सही ढंगले काम गरिरहेका एजुकेशन कन्सल्टेन्ट/माईग्रेसन एजेन्टलाई चैं हैरानी नै दिन्छ। अनि ‘अष्ट्रेलियन ड्रिम’ देखेका भरखर प्लसटु सकेका नेपाली विद्यार्थीलाई चाहिँ आर्थिक तथा मानसिक समस्यामा धकेलिदिन पनि बेर लगाउँदैन।

कोरोना कहरका कारण अष्ट्रेलिया आउने योजना भएर पनि नेपालमा नै रोकिएकाहरूले लौ अष्ट्रेलिया खुलिहाल्छ भर्ना भईहाल भनेर उक्साउने को नि कमी नहोला नेपालमा यतिखेर। त्यसो त लामो समय पढाईको ग्याप भएका र कम प्रतिशतको नतिजा भएकाहरूलाई नि आकर्षित गर्न सजिलै होला। त्यस्तै खालका पोस्टहरू पनि फेसबुकमा भेटिएलान्। तर अष्ट्रेलिया पढ्न आउने भन्ने योजना भएकाहरूले अष्ट्रेलियाको वस्तुस्थिती नहेरी र आफ्नो तर्फबाट गर्नुपर्ने ‘रिसर्च’ नगरी कन्सल्टेन्सी तथा साथीभाईको लहैलहैमा कदम चालेको खण्डमा त्यसले निम्त्याउने परिणाम भयावह हुनसक्छ।

अष्ट्रेलिया पढ्न जाने भनेर नेपालमा गमक्क परेर हतार हतारमा निर्णय गर्दा पछी यता आईसकेपछी फुर्सतमा पछुताउनुपर्ला है। ध्यान दिनुस्। नेपालमा जो कोही अष्ट्रेलिया आउने सोच बनाएर बसिरहनुभएको छ उहाँहरूले बदलिएको विश्व परिवेशमा अष्ट्रेलियाको अर्थतन्त्र र त्यसले माग्ने जनशक्ति, यहाँको ‘स्किल्ड माईग्रेसन’को गति, दिशा र सम्भावना साथै त्यसलाई ‘मिट’ गर्न सक्ने आफ्नो क्षमता, आफूमा भएको सिप र सो अनुसार अष्ट्रेलियामा रोजगारी पाउन सक्ने सम्भावना साथै आफू वा परिवारको आर्थिक क्षमतालाई आधार मानेर अष्ट्रेलिया आउने निर्णय गर्नुभयो भने सही हुनजान्छ।

यो पढ्नुस्: अष्ट्रेलिया आउने योजना बनाउनु अघि हेर्नुपर्ने ६ वेबसाइट

लेखक: मदनमणि

अष्ट्रेलियाको सिड्नीमा बस्ने मदनमणिसँग मिडिया, फोटोग्राफी र डिजिटल मार्केटिंगको अनुभव छ। अष्ट्रेलिया आउनु अघि उनी अन्नपूर्ण पोष्ट दैनिक पत्रकारिता पेशामा आबद्ध थिए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ