फेसबुकमा अपलोड गरिएका सुन्दर पृष्ठभूमिमा खिचिएका तस्वीर अनि गाडी र आकर्षक जिवनशैली। नेपालमा नै केही गरेर बस्नेहरूलाई साथीभाईले अष्ट्रेलियामा जिएको जिन्दगी साँच्चिकै स्वर्गिय नै लाग्छ। फेसबुकको फेसन र अष्ट्रेलियाको हाईफाई जिवनशैली नै नेपालमा हुँदाखाँदाको जागिर र व्यवसाय छोडेर अष्ट्रेलिया हान्निनको लागी पर्याप्त तापमान श्रृजना गर्ने ‘उत्प्रेरक’का रूपमा काफी छ। अष्ट्रेलियाको ‘फिभर’ यस्तो छ कि नेपालमा छोराछोरी यता पठाउन सकेन भने त बाबुआमालाई ‘सोसाइटी’मा नै नपर्ने डर समेत हुने भईसक्यो।

छिमेकी अनि नातेदारका छोराछोरीले अष्ट्रेलिया गएर काठमाडौं वा देशका अन्य शहरमा घर किनेको बाबु आमाको लागी गर-गहना अनि गाडी जोडेको कुराहरू ‘एककान दुईकान मैदान’ हुने भएपछी अलिक हुनेखाने (२०-२५ लाख लगानी गर्न सक्ने) जति सबैलाई छोराछोरीलाई अष्ट्रेलिया पठाउनु एउटा अनिवार्य आवश्यकता बनिसक्यो। हुन पनि देश २५-३० वर्ष देखी ओरालो लागेको लाग्यै छ, न कुनै आर्थिक उन्नती छ न त विकासको कुनै संकेत नै देखिन्छ। नेपालमा बसेर ‘डिप्रेसन’को शिकार हुनुभन्दा विदेशको यात्रा नै ठिक छनौट भन्ने परिसकेको छ। त्यसैपनि हाम्रो बिचमा चलेकै छ ‘ मर्ता क्या न कर्ता…!’
काठमाडौं मात्र होईन नेपालका छोटाबडा शहरमा यतिखेर हरेक ‘प्लस टु’ सकेको युवाको चाहना अष्ट्रेलियाको कलेजमा पढ्दै काम गर्ने हुन थालेको छ। ताकी ‘बलिउड’का फिल्मको हिरोको जस्तो जिवनशैली होस्। सम्पन्न, सुखी अनि सुन्दर। तर अष्ट्रेलियाको कहानी विद्यार्थीका लागी अर्कै छ। नेपालमा सोचे, देखेको जस्तो ‘चार्मिङ’ छैन।
यहाँबाट पढ्नुस यसरी कन्सल्टेन्सीको कुरामा मात्रै विश्वास गरेर लाग्दा जिन्दगी बर्बाद हुनसक्छ
अष्ट्रेलिया नेपालबाट हेर्दा र देख्दा जस्तो छ विद्यार्थीका रूपमा छिर्नेका लागी त्यती सहज छैन। न योजना बनाएर ‘आईएलटीएस’को तयारी गरेका र काठमाडौंका ‘कन्सल्टेन्सी’ धाएकाहरूको नै सजिलो हुनेवाला छ। काठमाडौं तथा अरू मुख्य शहरका ‘एजुकेशन कन्सल्टेन्सी’को ब्यानरमा अष्ट्रेलियन विश्वविद्यालय तथा कलेजका कोर्ष बेच्न बस्नेहरूको सुझाव र मार्केटिंग रणनीतिको ‘ओभर डोज’बाट बाहिर मुक्त भएर आफ्नो भविष्यको योजना, करिअर र आफ्नो आर्थिक हैसियत बुझेर मात्र अष्ट्रेलियाको सपना देख्न र ‘कन्सल्टेन्सी’ धाउन उपयुक्त हुन्छ। ’cause अष्ट्रेलियामा विद्यार्थीका रूपमा आएर यहाँ सेटल हुनका लागी चार कुरा तपाईं वा तपाईंका सन्तानमा हुनै पर्छ पहिलो राम्रो अंग्रेजी (कम्तिमा पनि प्रत्येक ब्याण्डमा ६ वा माथी), काम गर्न दुख गर्न सक्ने क्षमता (धेरै काम सुरूमा शारिरीक हुनसक्छ), राम्रो आर्थिक अवस्था (कम्तिमा पनि ३०-४० लाखको खर्च एक दुईवर्ष धान्न सक्ने) र चरित्र (अष्ट्रेलियामा आईसकेपछी जाँडरक्सी, लागुपदार्थ, जुवा, वेश्यावृत्ति जस्ता यहाँको खुला समाजमा स्वीकार गरिएका गतिविधीमा लागेर अलमलिने संभावना बढी हुन्छ)। यी सँगै तलका ४ कुरामा पनि नेपालमा रहँदा नै जानकार हुनु उपयुक्त हुन्छ। यी कुरा यस्ता हुन् जुन तपाईंलाई ‘एजुकेशन कन्सल्टेन्सी’ वा साथीभाई आफन्तले बताउँदैनन्।
चर्को आर्थिक दबाब
अष्ट्रेलियामा विद्यार्थीका रूपमा आउने नेपाली युवाहरूमाथी सुरू देखी नै चर्को आर्थिक दबाब हुन्छ, सबैलाई थाहा भएको कुरा हो। हरेक ३-४ महिनामा ८-१० हजार डलर कलेज वा विश्वविद्यालयलाई फि तिर्नु सानो कुरा होईन। यहाँका अष्ट्रेलियनलाई यस्तो दबाब हुँदो हो त यहाँ विश्वविद्यालय भन्दा धेरै चिहान हुन्थे होलान्। आत्महत्याको दर पनि उत्पातै बढ्थ्यो होला। नेपालबाट सुरूको दुई तिन महिनाको लागी खर्च बोकेर आउने अनि यहाँ खान बस्न देखी फि सबै जोगाड गर्न निक्कै नै गारो काम हो। त्यसमा पनि विद्यार्थीले काम पनि कम पाउँछन् र काम बापतको पैसा पनि धेरै नै थोरै हुन्छ। १२-१५ डलरमा काम गरेर कहिले साताको खर्च पुरयाउने अनि कसरी १० हजार जम्मा पार्ने। त्यसमाथी नेपालमा लिएको ऋण र त्यसको ब्याज छुट्टै छ। घरमा आमाबाबुले पनि घरबार नै बैंकमा राखेकोले पैसा पठाउन दिने दबाब पनि कम हुँदैन। आफूलाई पैसाको खाँचो जति भएपनि दिन २४ घण्टा कै हो र शरिरीको क्षमता पनि उही हो।
लागुपदार्थ, जुवा र दुर्व्यसनी
अष्ट्रेलियामा आएपछी धेरै १८-२५ वर्षका युवाहरू साथी संगतको कारण रक्सी, चुरोट देखी लागुपदार्थको लतमा लाग्ने गरेको पाईन्छ। मदिरा यहाँको जिवनशैलीको अभिन्न अंग भएपनि नेपाली शैली भनेको चैं ‘घ्याम्पे’ नै हो। जसले दिनभर शारिरीक श्रम गरेर फर्केको मानिसलाई राम्रो नगर्न सक्छ। मदिरा र चुरोट सँगै ‘गाँजा’ नेपाली युवाका बीच अर्को लोकप्रिय ‘पदार्थ’ हो। नेपालमा गाँजा खान थालेको छोरा-छोरीलाई सिड्नीमा गाँजा तान्न कसैले छेक्न सक्दैन। धेरै नेपाली युवा ‘विकेण्ड’ गाँजाको धुवाँदार नै बित्ने गरेको छ सिड्नीमा। त्यसो त यहाँका वेश्यालय र जुवाघरमा पनि उल्लेख्य युवा सहभागिता देखिन्छ। जसको कारण कतिपयको हप्ताको कमाईको ठुलो अंश ‘क्रेडिट कार्ड’को ऋण चुक्ता गर्नमा लागिरहेको हुन्छ। काठमाडौंबाट सपनाको पछी लागेर आएको सन्तान यता संगतको पछि लाग्यो भने त्यसले भवितव्य पनि निम्त्याउन सक्छ।

मानसिक समस्या
आर्थिक, सामाजिक, संगत र व्यवहारका कारण नेपालीहरूमा अष्ट्रेलिया आएपछी अनेकन खालका मानसिक समस्या देखिन थालेको छ। बाहिर धेरैले खुलेर चर्चा नगरे पनि नेपालीहरूमा मानसिक समस्याले ठूलो जरो गाडेको छ यहाँ। त्यसको पहिलो शिकार नै विद्यार्थी भिजामा रहेका युवा हुन्। हुन त नेपालमै बसे पनि यसखालको समस्या त देखिहाल्छ नि भन्ने लाग्न सक्छ तर मानसिक समस्याले अष्ट्रेलियामा देखेको सपना मात्र होईन जिन्दगी नै तहस नहस भएको उदाहरण प्रशस्त छन्। अष्ट्रेलिया जाने भनेर केही सोच विचार नगरी भिजा र माईग्रेसनको चक्करमा लागेर विवाह गर्नु, यहाँको समाज र बजार अनुसारको शिप नहुनु र नेपाल भन्दा फरक खालको श्रम गर्नुपर्ने अवस्था सँगै निरन्तरको काम, थकान र आर्थिक दबाब जस्ता कुराले नेपालमा ठूला सपना बाँधेर सिड्नी, मेलबर्न वा पर्थ झरेकाहरू मानसिक समस्यामा पर्ने गरेका छन्। मानसिक समस्याकै कारण कामबाट निकालिने, पढ्न नसक्ने, श्रीमान श्रीमतीको झगडा, कुलतमा फस्ने संभावना बढी छ।
अष्ट्रेलिया आउने योजना बनाउनु अघि हेर्नुपर्ने ६ वेबसाइट
बढ्दो मृत्युदर
सुनौलो भविष्यको सपना बोकेर अष्ट्रेलिया आएका नेपाली युवाहरूको मृत्युदर पनि बढेर गएको छ। आत्महत्या, दुर्घटना, लापरवाहीका कारण वर्षेनी मृत्युवरण गर्ने नेपालीको संख्या उल्लेख्य हुन थालेको छ। यो भनेको यस्तो कुरा हो ‘अरु मरयो को हो को हो, आफ्नो परयो संसार गयो’। जसको आफन्त पर्दैन त्यसका लागि यो एउटा समाचार र फेसबुकमा सेयर हुने स्टटस मात्र हुन्छ। लागुऔषध सेवन, मानसिक समस्या, दुर्घटना, समुन्द्रमा पौडी खेल्दाको असावधानी, झगडा, ‘लिभिङ रिलेसन’ आदी कारण मृत्यु हुने र रोज्नेको संख्या बढि रहेको छ।
अष्ट्रेलिया जाने भनेर बाआमाको कमाई, घर र जेथाको मुल्यांकन गर्नु अघि अष्ट्रेलियाको जोखिम र अवसर अनिआफ्नो क्षमताको मुल्यांकन गर्न सकेको खण्डमा अष्ट्रेलिया साँच्चै ‘अवसरको गन्तव्य’ बन्न सक्छ नत्र ‘अढैया साँढेसातीको प्रवेश’।