काममा कम पैसा ! हिसाब र गुनासो दुवै गर्नुस्

 काममा कम पैसा ! हिसाब र गुनासो दुवै गर्नुस्
अष्ट्रेलियाको शहरी क्षेत्र हेर्दा जत्ति चमक धमकको देखिन्छ २० घण्टा साताको काम गर्न पाउने भिजा सर्त रहेका विद्यार्थीको शोषणमा पनि कम छैन। क्लिनङ देखी किचन ह्याण्ड सम्म सबैलाई क्यासको माध्यमबाट श्रम शोषणको शृंखलामा जोड्ने गरेको पाइन्छ।

‘श्रम शोषण’ नेपाल मात्र होईन तेस्रो विश्वको आम समस्या हो। नेपाल र नेपाल जस्तै अतिकम विकसित मुलुकहरूमा मालिकहरू श्रम शोषणलाई अधिकारको रूपमा नै लिने गरेको उदाहरण र अभ्यास दुवै देख्न सकिन्छ। नेपालमा श्रम शोषणको अवस्था यस्तो छ कि समाजको आँखा अनि राज्यको चौथो अंग भनेर गमक्क पर्ने पत्रकारहरूले नै कार्यालयबाट महिनाभर काम गरेको तलब पाउने अवस्था छैन। रेडियो र टिभीको कुरा नै छोडौं दैनिक पत्रिकाहरूमा काम गर्ने पत्रकारहरू सारै नै थोरै तलबमा काम गरिरहेका छन्। ईमेज च्यानल, एभिन्युज टिभी, न्युज ट्वान्टीफोरको तलबको विषयमा त देशभर नै बहस भएको थियो सार्वजनिक मंचमा। पछिल्लो समय सरकारले श्रमजिवि पत्रकारको न्युनतम तलबमान लागु गराउन कडा रवैया लिने भने पनि कान्तिपुर जस्तो नम्बर वान भन्ने पत्रिका नै पत्रकारलाई न्युनतम महिनाको २० हजार तलब दिन्छौं भन्न सक्दैन न त पत्रकारहरूको (?) नेपाल पत्रकार महासंघ नै यसलाई लागु गराउनमा दबाबका साथ अघि देखिएको छ। यो त नेपालको कुरा भयो। अष्ट्रेलियामा पनि गत वर्ष यहाँका व्यवसायी र मालिकहरूले विदेशबाट विद्यार्थीका रूपमा वा कामदारका रूपमा आउनेहरूलाई भिजाको लोभमा धेरै काम कम पैसा दिने गरेको धेरै केश सार्वजनिक भएको थियो भने सेभेन ईलेभेन जस्तो चेन कम्पनि श्रम शोषण (लोअर पे)को कारण कारवाहीमा परेको थियो।

काममा कम पैसा ! हिसाब र गुनासो दुवै गर्नुस्
अष्ट्रेलियाको ग्रमिण क्षेत्रमा कृषि फारममा काम गर्ने व्यागप्याकर भिजाको सर्तपालनाका लागी पनि कम पैसामा काम गर्न वाध्य हुन्छन्। गैरकानुनी रूपमा बस्नेहरूको संख्या र सहभागिता पनि फारममा नै बढी हुने गरेको पाईन्छ।

अष्ट्रेलियाका धेरै क्लिनिङ कम्पनि र रेस्टुरेन्टहरू विद्यार्थी तथा ब्यागप्याकरहरूलाई कामको अनुपातमा निक्कै कम पैसा दिएर श्रम शोषण गर्ने क्रममा समातिएका छन् र मिलियन डलर फाईन पनि भोगेका छन्। यसरी श्रम शोषणमा पर्नेमा नेपाली विद्यार्थीहरूको संख्या उल्लेख्य रहेको ओपन सेक्रेट नै हो। नेपाली विद्यार्थीलाई काम लगाउने नेपाली, भारतीय तथा अन्य एशियन कन्ट्रयाक्टर, सबकन्ट्रयाक्टर तथा कम्पनिहरूले निक्नै न्युन ज्याला (पे) दिएको अनि कतिपय अवस्थामा पैसा नै नदिने गरेको, काम सिकाउने तथा ट्रायल भनेर साता भरी नै सित्तैमा काम लगाएको जस्तो घटनाहरू सुन्नमा आईरहेको छ। यस्ता घटनाहरू सार्वजनिक रूपमा नै यति छलफलको विषय भईसकेको छ कि अष्ट्रेलियाको सरकारले अण्डर पे को सर्भेमा नेपाली समुदायलाई पनि विशेष ध्यान दिएर विभिन्न विश्वविद्यालयसँगको सहकार्यमा अध्ययन गराउन लागेको छ।

यतिखेर युनिभर्सिटी अफ सिड्नी, युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (युटिएस) र युनिभर्सिटी अफ न्यू साउथवेल्स (युएनएसडब्लु) मिलेर अस्थायी भिजामा अष्ट्रेलियामा रहेकाहरूको काम तथा उनीहरूले पाईरहेको ज्याला (पे)का ’boutमा सर्भेक्षण गरेिरहेका छन। यो सर्भेमा यहाँबाट भाग लिनुहोस्। केही समय अघि नेपाली विद्यार्थी अनिल श्रेष्ठको सक्रियतामा ‘सेल्भेसन आर्मी’ले यस्तै खालको सर्भे गरेको थियो।

पछील्लो समयमा अष्ट्रेलियाको कृषि फार्महरूमा अस्थायी भिजामा आएकाहरूलाई घण्टाको २ डलरको दरले मात्र ज्याला (पे) दिएको विषयले फेरी समाचारमा स्थान पाएको छ। न्युजडटकमडटएयुको यो सामग्री हेर्नुस्। यो सँगै अर्को सार्वजनिक भएको विषय हो अष्ट्रेलियामा २३ मिलियन डलर भन्दा बढी पैसा कामदारहरूबाट अण्डर पे को कारण हरिएको तथ्यांक । जुन ति कामदारहरूलाई फिर्ता दिलाउन यहाँका व्यवसायीक संगठन, सरकार र गैरसरकारी संस्था लागिपरेका छन्। यस्तै क्रममा अष्ट्रेलियाको नेशनल युनियन अफ वर्कर्सले एउटा अनलाईन क्याल्कुलेटर बनाएको छ जसले तपाईलाई तपाईंको रोजगारदाताले ‘अण्डर पे’ गरेर श्रम शोषण र आमदानी माथी डकैती त गरेको छैन त्यो जाँच्न र यदी कम पैसा दिएको भए कानुनी उपचार खोज्न सहयोग गर्छ। (यहाँबाट सही पे पाए नपाएको हेर्नुस्)।

 

यदी तपाईंलाई क्यास वा एबीएनमा भन्दै काम बढी ‘पे’कम दिएको छ वा तपाईंलाई आफुलाई काम लगाउनेले काममा पेलाउने पैसामा कस्ने गरेको छ भने पनि तपाई यस’boutमा फेयर ट्रेडिङ तथा कामदारको हित हेर्ने गैरसरकारी संस्था मार्फत गुनासो गर्न र क्षतिपूर्ति पाउन सक्नुहुन्छ। त्यसको लागी आफुले काम गर्ने ठाम वा कन्ट्रयाक्टर, सबकन्ट्रयाक्टर तथा कम्पनिको एबीएन सहितको जानकारी, आफुले काम सुरू गरेको र सकेको डायरी रेकर्ड राख्नु जरूरी हुन्छ।

लेखक: मदनमणि

अष्ट्रेलियाको सिड्नीमा बस्ने मदनमणिसँग मिडिया, फोटोग्राफी र डिजिटल मार्केटिंगको अनुभव छ। अष्ट्रेलिया आउनु अघि उनी अन्नपूर्ण पोष्ट दैनिक पत्रकारिता पेशामा आबद्ध थिए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ