‘हुलास चामल अमेरिकामा पनि…’ कलाकार सन्तोष पन्तले यसरी टेलिभिजन विज्ञापनमा बोल्दा ल सियो बन्दैन भनेको देशको चामल अमेरिका सम्म पुग्ने भएछ भनेर सानोमा कम्ता खुसी लाग्थेन। जब ठूलो भएर बुझ्ने भइयो थाहा भयो हामी नेपालीले कृषि प्रधान देश भनेर पढे पनि चामल चाहिँ भारतबाट आयात गरेर नै खाने रहेछौं। अझ थाहा भयो २०४६ सालमा प्रजातन्त्र आएपछी गणतन्त्र आउने समय सम्ममा तीन हजार भन्दा धेरै नेपाली उद्योग कलकारखाना बन्द भएका रहेछन्। नुन देखी सुन, चामल देखी घुन सबै विदेशबाट ल्याउन पर्ने परनिर्भर परजिवी भएका रहेछौं प्रजातान्त्रिक अधिकारले सुसज्जित टाउकामा जनही ४० हजार भन्दा बढीको अन्तर्राष्ट्रिय ऋण बोकेर। सानोमा सानिमाको घर नारायणगढ जाँदा सानोबाले हेटौंडा कपडा कारखानामा काम गर्ने सुनेको मैले याक चुरोटको बट्टा चाहीँ देखेकै हो, काठमाडौं आउँदा रोपवे देखियो ट्रली चढिओ अनि चोभारको सिमेन्ट कारखाना चैं श्रीमतीसँग घुम्न गएको। सबै बिरक्त लाग्ने औद्योगिक विकासको चित्र देख्दा, जताततै बन्द भएका पंचायतकालिन विकास र औधोगिकरण।
अष्ट्रेलिया आएपछि साँच्चै हुलास चामल पाईन्छ कि भनेर पनि खोजियो, जे भएनि आफुलाई ‘मेड इन नेपाल’सँग लगाब छ। नेपालीका ग्रोसरी पसलमा दाल, चामल सबैजसो त भारत कै हुने रहेछन्। नेपालीलाई तान्ने भनेको ‘वाइवाइ’ चाउचाउले रहेछ। नेपालमा वाइवाइ खाएको बानी त्यसमा पनि अष्ट्रेलियामा ‘वाइवाइ’ भनेपछी अहो नेपालको चाउचाउ भन्ने हुने नै भयो। हुन त चिनियाँ हो की थाई ग्रोसरीमा पनि पाईन्छ ‘वाइवाइ’ स्वाद मिठो लागेन। नेपालीमा पाईने वाइवाइको चाहिँ स्वाद नेपालको सँग मिल्छ (कसै कसैले चाहीँ नेपालबाट ल्याएको भन्दा फरक छ पनि भने है)। नेपालको स्वाद जस्तै नहुनुको कारण चाहिँ यहाँ अष्ट्रेलियामा पाईने वाइवाइ चाउचाउ नेपाली नभएका कारण हो। हामी सबैले नेपालमा सानै देखी देखेको र खाएको हुनाले वाइवाइ नेपाल कै हो भन्ने लाग्छ। त्यसमा पनि नेपाली उद्योपति विनोद चौधरी (नेपाली मिलेनियर, न्युडल किङ पनि भनिन थालेको छ)को व्यापारिक समुह ‘चौधरी ग्रुप’को उत्पादन भएकाले पनि अष्ट्रेलियामा नेपाली ग्रोसरीमा देखिने वाइवाइमा एक खालको आफ्नोपन चैं छ। तर
नझुक्किनुहोस अष्ट्रेलियामा तपाईं हामीले किनेर खाने वाइवाइ चाउचाउ चैं भारतमा बनेको हो।


हेर्नुस अष्ट्रेलियामा पाईने वाइवाइमा नेपालको नाम प्राविधिक सहयोगमा भन्ने ठाममा मात्र उल्लेख छ।

के फरक पर्छ?
नेपालमा बनेको भएपनि भारतमा बनेको भएपनि वाइवाइ भनेको वाइवाइ नै हो। यहाँ डलरमा नै किन्नुपर्छ। तर फरक यो हो कि भारतमा बनेको वाइवाइ खाँदा त्यसबाट हुने नाफा भारतमा जान्छ, तपाईंले खाएको वाइवाइलाई तिरेको १५ डलर (प्याकेट)को लाभांश नेपालमा पुग्दैन।
अरू भन्दा महँगो छ वाइवाइ

अष्ट्रेलियाका ठुला सुपरमार्केटमा पाइने अरू चाउचाउ भन्दा महँगो छ वाइवाइ खासमा। ७५ ग्रामको वाइवाइ उलवर्थको ८५ ग्रामको चिकेन न्युडल भन्दा दोब्बर भन्दा बढी मुल्यको छ। अष्ट्रेलियाका अरू ग्रोसरीमा पाईने चाउचाउहरूमा नो एमसजी (मोनोसोडियम ग्लुकामेट) हालिएको छैन भनेर स्पष्ट लेखिएको देखियो तर वाइवाइमा त्यस्तो देखिएन तर वाइवाइले अष्ट्रेलियाको बजारको हिसाबमा ‘हलाल’ भने लेखेको छ। अष्ट्रेलियन सरकार खाध्यान्नमा एमसजीको प्रयोग’bout यस्तो भन्छ यहाँबाट पढ्नुहोस्

वाइवाइले नेपालमा गुणस्तर कायम राख्न नसकेर गुणस्तर चिन्ह राख्ने हैसियत गुमाएको थियो भने भारतमा पनि तामिलनाडूमा वाइवाइमा प्रतिबन्ध लागेको थियो।