अष्ट्रेलियामा हरेक पाँच वर्षमा हुने जनगणना आज राती हुन लागिरहेको छ। अगस्त ९ को रात हुने जनगणनाको लागी तपाईंको घरको लेटर बक्समा केही दिन अघी नै अष्ट्रेलियन तथ्यांक विभागले एउटा चिठी पठाई सकेको थियो सायद तपाईंले सुरक्षित राख्नुभएको होला। त्यही चिठीमा रहेको १२ अंकको पासवर्ड प्रयोग गरेर अष्ट्रेलियाको आजको जनगणनामा सहभागी हुने हो। ‘ला त्यो चिठी त मैले फालिदिएँ त’ (हामी धेरैले आफ्नो नाम सम्बोधन गरेर नआएको चिठीलाई बाल दिँदैनौं, फालिसकेको वा हराएको पनि हुनसक्छ) भन्ने जवाफ तपाईंको मनमा उठेको छ भने न आत्तिनुस 1300 214 531 मा फोन गरेर तपाईंले आफ्नो जनगणनामा सहभागीता पुरा गर्न सक्नुहुन्छ।
यहाँ क्लिक गरेर जनगणनाको फाराम भर्नुहोस्
तपाईंलाई आएको चिठी यस्तो छ।
यस पटक अष्ट्रेलियाले पहिलो पटक अनलाईनबाट जनगणना गर्न लागेको हो। त्यसका लागी तयार पारेको वेबसाईटले प्रति घण्टा १० लाख जनगणनाका फारम प्रोसेस गर्न सक्छ। त्यसैले गर्दा अनुमान गरिएको दुई करोड चालिसलाख जति जनसंख्याको सहभागिताका लागी वेबसाइटको परफरमेन्समा समस्या नहुनसक्छ।
यसपाली अनलाईन जनगणना भएकाले पनि हुनसक्छ धेरैको चासो गोपनियतामा रहेको भएपनि जनगणनाका क्रममा दिने सबै जानकारीको गोपनियतामा कुनै संशय राख्नु नपर्ने तथ्यांक विभागले बताईसकेको छ। सरकारी अधिकारी र निकायले जनगणना मार्फत प्राप्त जानकारी अन्य कामका लागी प्रयोग नगर्ने बताईसकेको छ। यसको मतलब हो गैरकानुनी तरिकाले भिजा बिहीन बस्ने वा अन्य कुनै ईमिग्रेसनको समस्या भएका वा आर्थिक विषयमा जनगणनाको सूचनालाई मात्रै लिएर कारवाही हुँदैन। विद्यार्थीहरूको काम, कमाई र पढाईको कुरामा पनि समस्या हुँदैन। यस’boutमा थप यहाँबाट पढ्न सक्नुहुन्छ
स्क्यामको कुरा पनि आईरहेको छ त्यसैले कसैले जनगणनाको विषयलाई लिएर फोनबाट जानकारी मागेको खण्डमा ठग होईन भन्ने निश्चित गरेर मात्र सूचना वा जानकारी दिनुस्। यस’boutमा यहाँबाट थप पढ्नुस।
विद्यार्थी र भिजिट भिसामा हुनेले पनि भर्नुपर्छ ?
अष्ट्रेलिया सरकार र तथ्यांक विभागले अष्ट्रेलियामा ९ अगस्तको रात रहेका सबैको जानकारी मागेको छ। त्यसैले अष्ट्रेलिया भित्र जुनसुकै भिजामा रहेकोले पनि जनगणनाको फर्ममा आफुलाई समावेस गराउनु पर्छ। अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको रुपमा रहेका अनि ४५७ भिजामा रहेकाले पनि आजको जनगणनाको फर्म भर्नुपर्छ। नेपालबाट भिजिट भिजामा बुबा आमा आउनु भएको छ भने उहाँहरूलाई पनि यसमा सहभागी गराउनु पर्छ।
नेपालीले ध्यान दिनुपर्ने कुरा
अष्ट्रेलियामा रहेका नेपालीहरूले यो जनगणनाको क्रममा केही कुरामा ध्यान दिनुपर्ने देखिन्छ। जस्तो कि घरमा अंग्रेजी भाषा बाहेक अरू कुन भाषा प्रयोग गर्नुहुन्छ या हुन्न? भन्ने प्रश्नमा नबिर्सिई नेपाली लेख्नुहोला। नेपाली भाषा छनौटको सूचीमा नरहेको ले अन्य भनेर दिएको छनौट सूचिको अन्तिममा रहेको बक्समा नेपाली लेख्नुपर्छ। मुल तथा वंशजको उल्लेख गर्दा नेपलिज पनि भाषाको लहरमा जस्तै गरेर सूचीको अन्त्यमा लेख्नु पर्छ। धार्मिक आस्थाको छनौटमा हिन्दुईज्ममा क्लिक गर्न नभुल्नुहोला।
जनगणनामा सहभागी नभए जरिवाना लाग्छ?
९ अगस्तको रात हुने जनगणनामा सहभागी नहुनेलाई आफ्नो जानकारी नभर्दा सम्म दैनिक १८० डलरको दरले जरिवाना लगाउने भन्ने कुरा सुरूमा आएको भएपनि अष्ट्रेलियन तथ्यांक विभागले अहिले जरिवाना नगर्ने बताएको छ। तर यदी आजको रात सम्म जनगणनामा भाग नलिएको खण्डमा किन भाग नलिएको हो त्यसको जाँच गर्न फिल्ड अफिसरहरू तपाईंको घर आउन सक्छन्। र उनीहरूको जाँचबुझ पछी पनि जनगणनाको फारम नभरेको खण्डमा तथ्यांक विभागले जरिवाना गर्न सक्छ।
हामीलाई के फाईदा छ?
यो जनगणना नेपालको जस्तो तथ्यांकमा मात्र सिमित रहने खालको होईन। अष्ट्रेलियाको आगामि दिनको विकास र समाजको अवस्तितीलाई व्यवस्थापनको लागि आज संकलन गरेका तथ्यांकले धेरै मदत गर्दछ। सरकार र अष्ट्रेलियन नागरिकका लागी यसले धेरै अर्थ राख्छ त्यसको त नेपालीहरूको लागी तत्काल र सिधा फाइदाको कुरा चैं कुन क्षेत्रमा नेपाली धेरै बस्दा रहेछन् र नेपालीको अष्ट्रेलियामा उपस्थिती के रहेछ भन्ने थाहा हुन्छ। यसले गर्दा रेस्टुरेन्ट कता तिर खोल्ने, घर जग्गा कता तिर किन्ने अनि मोर्टगेज, विभिन्न खालका कन्सल्टेन्सी कता खोल्दा नेपालीहरूलाई टार्गेट गरेर व्यवसाय चलाउन सकिन्छ भन्ने थाहा हुन्छ। त्यसो त नेपाली समुदाय कता छ र कता कोठा खोज्ने भनेर नेपालबाट आउने विद्यार्थी तथा आप्रवासीलाई यसबाट प्राप्त हुने सूचनाले सहयोग नै गर्छ। एशफिल्ड, रकडेल, ग्रानभिल मात्रै केन्द्र नेपाली केन्द्र हुन् कि अरू नि छन् जनगणनाको नतिजाले देखाउँछ।