यी कुरा सिकौं सिड्नीबाट

अष्ट्रेलिया, यो शब्दले कुनै देशको मात्र नाम जनाउँदैन नेपालमा। एउटै देश र एउटै महादेश भनेर माध्यमिक तहमा पढेका नेपालीहरुका लागि यो सपनाको सहर हो। जहाँ कोही आफै अवतरण हुने सपना साँचेका छन् भने अभिभावक भएकाहरु यूवा सन्तानको भविष्यलाई यहाँ अवतरण गराउने योजनामा छन्। राजधानी काठमाडौंका चोक र गल्लीमा अनगिन्तीको संख्यामा रहेका शैक्षिक परामर्शदाताहरु नेपाली सपनालाई त्रिभूवन विमानस्थलबाट उडाउनका लागि इन्धन भर्ने काम गरिरहेका छन्, बैंकहरु त्यसैमा क्याटालिष्ट (उत्प्रेरक)को काम गर्छन्। अष्ट्रेलिया यतिखेर हरेक प्लस टु गर्नेहरुको सपनामा देखिन थालिसकेको छ। कम्तिमा दुई वर्षको विश्वविद्यालय शिक्षा त्यसपछिको अध्ययन पछिको दुईवर्षे काम गर्ने अनुमति र स्थायी बसोबास (पीआर) स्वयंभूका भरयाङ जसरी नै एक पछि अर्को गरि योजना गरिएका छन्। यही यूवा योजनाको अन्तर कुन्तरमा अभिभावका सपना र भविष्य पनि जोडिन्छन्।

यी कुरा सिकौं सिड्नीबाट - कटुवालअष्ट्रेलियाको राजधानी नै थाहा नभएका धेरै छन् काठमाडौंमा अष्ट्रेलिया पुग्ने सपना बोक्ने। अष्ट्रेलियाको राजधानी सोध्दा ९० प्रतिशत भन्दा बढिले सिड्नी नै जवाफ दिन्छन्। यसको कारण हो नेपालीले सजिलै चिन्दछन् सिड्नी। सायद यो नेपालीका लागि अरु भन्दा नजिक छ। ओलम्पिक आयोजना भएकाले पनि हुनसक्छ नेपालीलाई अष्ट्रेलिया भन्नासाथ मानिसहरु सिड्नी नै सम्झन्छन्। त्यसो हुनाको कारण हो अष्ट्रेलिया चिनाउने दुई ठूला संरचना ‘ओपेरा हाउस’ र ‘हार्बर ब्रिज’ सिड्नीमा हुनु। जसले मानिसहरुलाई अष्ट्रेलिया भनेकै सिड्नी हो भन्ने बनाउँछ। सिड्नीको मुख्य आकर्षण यी दुई हुन्। साथै सिड्नीका ‘बोन्डाई’, ‘म्यान्ली’ लगायतका वीच अनि रोयल बोटानिकल गार्डेन र हाइड पार्क पनि सिड्नीका आकर्षक स्थल हुन् जहाँ यहाँ भित्रने पर्यटक र आगन्तुक घुम्न छुटाउँदैनन्।

नेपालीहरुका लागि भने घुम्ने र आनन्द लिने भन्दा पनि विश्वविद्यालय तथा कलेजको पढाइ खर्च धान्ने र जाँदा लागेको सरसापट तिर्ने नै मुख्य योजना हुन्छ। किनभने सिड्नीको किङ्सफोर्डस्मिथ विमानस्थलमा नेपाली यूवा र चढेको विमान होइन उ र उसको परिवारको भविष्य नै अवतरण भएको हुन्छ। विश्वविद्यालय तथा कलेजको समय भन्दा बाहिरको समय काम खोज्न र गर्नमा नै व्यतित हुन्छ विद्यार्थी भिसामा पहिलो पटक सिड्नी आउनेहरुको। त्यसपछि त उ सिड्नीको रंग र चक्काचौंधमा विस्तारै घुलिहाल्छ। नेपालबाट भविष्य र सपनासँगै उडेर सिड्नी अवतरण हुने धेरै नेपालीहरु सिड्नीको रंगले रंगिइसकेका छन्। जुन नवआगन्तुकले यहाँको स्थायी बसोबास (पीआर) पाएकाहरुसँगको भेट र देखादेखबाटै पत्तो पाउन सक्छ।

यी कुरा सिकौं सिड्नीबाट - कटुवालनेपालबाट धेरै जना धेरै फरक फरक उदेश्यका साथ अष्ट्रेलिया आए गएका छन्। राजनीतिक नेता देखी कर्मचारीका विभिन्न तह र तप्काले सिड्नीको सुन्दरता, विकास र संस्कृती देखेको छ। (राज्यकोषबाट खर्च बेहोर्ने गरि अष्ट्रेलिया आएकाले त देखेका त्यस्ता कुरालाई टिपेर वा तस्विरमा उतारेरै लैजानुपर्ने हो) जसको केही मात्रा मात्र पनि नेपालमा लागु गर्न सकेको खण्डमा देशले परिवर्तन र प्रजातन्त्र महसुस गर्न सक्ने थियो। भरखरै आफ्नो सपनाको पुलिन्दालाई सिड्नीमा उतारेको मैले विश्वविद्यालय जाँदा र काम नपाइसकेको अवस्थामा फुर्सदिलो घुमाइमा हामी नेपालीले सिड्नीबाट धेरै सिक्नुपर्ने कुराहरु देखें जसमध्येका केही यी हुन् जो हामी ठूलो लगानी र खर्च बिना नै नेपालमा पनि लागु गर्न सक्छौं।

जरिवानाको व्यवस्था

सिड्नीमा आउनुभयो भने तपाइँ जहाँ पनि सूचना देख्नुहुन्छ। ९० प्रतिशत भन्दा धेरै सन्दर्भमा ति सूचना जरिवानाका हुन्छन्। सिड्नीमा अवतरण हुनासाथ मैले कतै केही सूचना वा लेखोट देखेको थिएँ भने त्यो जरिवानाको सूचना थियो। सिड्नी छिर्ने आगन्तुकलाई जाँच गर्ने अध्यागमन परिसरमा मोबाइल फोन प्रयोग गर्नेलाई एकहजार डलर जरिवाना हुने रहेछ। सार्वजनिक स्थल, रेल, बसहरुमा धुम्रपान गर्नेहरुलाई सय डलर जरिवाना लाग्दो रहेछ त्यस्तै गाडीको गति धेरै भए पनि जरिवाना र गलत पार्किङमा पनि जरिवाना। रेलको टिकट बिना रेलयात्रा गरेको भेटिएपनि जरिवाना। यस्ता जरिवानाले नै सिड्नीलाई अनुशासनमा राखेको देखिन्छ। नागरिकलाई अनुशासनमा राख्ने सबैभन्दा सजिलो माध्यम भएकाले यो नेपालमा पनि सजिलै लागु गर्न सकिन्छ।यी कुरा सिकौं सिड्नीबाट - कटुवाल

अपांगमैत्री संरचना

सिड्नीका सार्वजनिक सवारी देखी भवन र सपिङमल सबै ठाउँमा सबैलाई पहुँच छ। शारिरीक अपांगता भएकाका लागि झन सरल छ यहाँको दैनिकी। रेल कर्मचारीहरु ह्विलचेयरमा आउनेहरुलाई रेलमा चढाउन र झार्नका लागि तयार भएर बसेका देखिन्छन्। हरेक स्टेशनमा लिफ्ट छ उनीहरुका लागि। सार्वजनिक शौचालय देखी पार्क, बाटो काट्ने जेब्रा क्रसिङ सबैमा सजिलै ह्वीलचेयर गुडाएर जान सकिन्छ। काठमाडौंका सपिङ मलहरुको भौतिक अवस्था देख्दा लाग्छ अपांगता भएकाहरु उनीहरुका लक्षित उपभोत्ता नै होइनन्।

भरपर्दो सार्वजनिक यातायात

सिड्नीका मानिसहरु मध्ये धेरैसँग आफ्नै सवारी साधन छ। तर पनि धेरैको यात्रा रेल वा बसमा हुन्छ। जहाँ तहीँ पार्किङ नपाउने साथै लामो बाटो पर्ने र जाममा परिने संभावना भएकाले पनि धेरै मानिस सार्वजनिक सवारी नै प्रयोग गर्छन्। धेरै मात्रामा यहाँका सार्वजनिक सवारी तालिका अनुसार नै पाउन सकिन्छ। त्यसो त मध्यरात सम्म यात्रु विहिन भएपनि यी सेवाहरु सूचारु रहन्छन्। नेपालमा पनि रिङरोड भित्र सार्वजनिक सवारीको प्रयोगलाई जोड दिएर भिड र पार्किङको समस्या कम गर्न सकिन्छ। त्यसको लागि साझा यातायात जस्ता संस्था वा महानगर आफैले पनि सार्वजनिक यातायातको व्यवस्था गर्न सक्छ।

हूलाक सेवा

नेपालमा प्रधानमन्त्रीको कार्यालयले समेत राज्यको हूलाक सेवाको प्रयोग नगरेर नीजि कुरियरको सेवा लिन थालेको धेरै भइसकेको छ। अष्ट्रेलियामा भने अधिकांश सन्दर्भमा नागरिकहरुको सरकारसँगको सम्बन्ध भनेको हूलाकबाट नै हुन्छ। यहाँको हूलाक निक्कै सक्रिय र भरपर्दो छ। कुनै पनि सरकारी कार्यालय वा बैंकमा गरिने कामहरु हूलाकको माध्यम भएर नै नागरिक सम्म पुग्छन्। बैंकमा गएर खाता खोल्नुस डेबिट वा क्रेडिट कार्ड घरको ठेगानामा हूलाक मार्फत नै आउँछ। सरकारी कार्यालयहरुलाई तिर्नुपर्ने शूल्कहरु पनि हूलाकबाटै पठाउन सकिन्छ र सम्बन्धित काम भएर त्यसको जानकारी पनि हूलाकबाटै आउँछ। सामान्य प्रशासनिक परिवर्तनबाट नेपालको हूलाक सेवालाई पनि यसरी नै चुस्त बनाउन सकिन्छ।
यी कुरा सिकौं सिड्नीबाट - कटुवाल

सार्वजनिक टेलिफोन बुथ

हुन त सिड्नीका करिब करिब सबैसँग मोबाइल फोन छ। विभिन्न प्याकेजमा मोबाइल सेट सहित सस्तोमा सेवा नै आउने भएकाले पनि मोबाइलको पहुँच सहज भएको हुनसक्छ। तर पनि हरेक सडकको छेउमा सार्वजनिक टेलिफोन बुथहरु खडा पाउन सकिन्छ। सडकमा आपतकालका लागि यस्ता बुथहरुले निक्कै महत्वको भूमिका खेल्छन् त्यसो त बाहिरबाट घुम्न आउनेका लागि पनि यसले निक्कै सजिलो पार्छ। नेपालमा यस्ता सार्वजनिक बुथ नेपाल टेलिकमको मुख्यालयको गेट भन्दा बाहिर कतै पनि देखिँदैन। जसकारण राती आपतमा परेको व्यक्तिले सजिलै फोन गर्न समेत सक्दैन।

सार्वजनिक शौचालय र खानेपानी

सिड्नीका सडक र सार्वजनिक स्थलहरु सफा हुनुमा यहाँ रहेको सार्वजनिक शौचालयको व्यवस्था पनि मुख्य हो। हरेक स्थानमा फोहर फाल्ने टोकरी छन् भने आवश्यकता अनुसार शौचालय। बाटो देखी पार्क सबै स्थानमा खानेपानीको लागि धारा छ जसबाट हरेक व्यक्तिले सहजै प्यास मेट्न सक्छ। काठमाडौंमा परम्परागत ढुंगे धारा हराइसके भने सार्वजनिक स्थानमा धारा नै छैनन्। अरु त अरु काठमाडौंको खानेपानीको जिम्मा लिने काठमाडौं उपत्यका खानेपानी लिमिटेडको कार्यालय बाहिर समेत सार्वजनिक रुपमा पानी खान सकिने धारा राख्न सकिएको छैन। गर्मीको मौसममा पैदलयात्रु (काठमाण्डौं देशका अरु शहरको तुलनामा मानिसहरु धेरै हिंडेर नै ओहोरदोहोर गर्ने शहरमापर्छ)का लागि पानी खुवाउन मारवाडी सेवा समिती नै चाहिन्छ। सार्वजनिक शौचालय संख्यामा निक्कै कम, फोहर छन् र तीनको प्रयोगमा पैसा लाग्छ।

हरियाली एवं पार्क

यी कुरा सिकौं सिड्नीबाट - कटुवालहुन त नेपालमा सिड्नीमा जस्तो खुला ठाउँहरु धेरै छैनन्। पार्कहरु पनि व्यवस्थित छैनन्। ठूलो र हेर्नलायक बनाउने भनिएको यूएन पार्कले पनि बजेट मात्र खाइरहेको छ काम खासै भएको छैन। खुला ठाउँ पाए मानिसहरु सुकुम्बासी बनिदिने र ओगट्ने राजनीतिक आडभरोशामा हुकुमबासी बनिदिने चलन छ। जसले गर्दा काठमाडौं हरियाली विहिन बन्ने क्रममा छ। यसै पनि यहाँका खोलानदीमा जलचरहरु छैनन ढलमात्र छ। सडकका ट्राफिक आइल्याण्ड र खाली ठाउँहरुमा महानगरका हाकिमलाई मिल्ने कमिसनका आधारमा वातावरणमा नमिल्ने क्रिसमस ट्रि देखी अनेकन ट्रि लगाइन्छन् जुन सर्दैसर्दैनन्। भएका पार्क र खाली ठाउँहरुमा रैथाने जातका रुखविरुवा लगाउन र पार्कहरु सफा राख्नका लागि जरिवानाको व्यवस्था गर्न सकिन्छ।

अध्ययन संस्कृती

यी कुरा सिकौं सिड्नीबाट - कटुवालसिड्नीका मानिसहरुबाट नेपालीले सिक्नै पर्ने अर्को बानी हो पढ्नु। यहाँका मानिसहरु पढ्छन्। हुन त नेपालमा पनि पछिल्लो समय पढ्ने बानीको विकास भएको विभिन्न किताबहरु बेस्टसेलर भएको र बिक्रिको संख्या बढेकोबाट अनुमान लगाउन सकिन्छ। यहाँका पार्क र रेलमा पनि मानिसहरु पढिरहेको देखिन्छ। बिदाका दिनमा घाम ताप्न वा घुम्न पार्कमा निस्कनेहरुले झोलामा किताब बोकेर जान्छन् र पार्कमा सुतेर पढिरहेको देख्न सकिन्छ। हाम्रा रत्नपार्कहरुमा मानिसहरु बदाम खाएर र कुरा काटेर नै दिन बिताइरहेका हुन्छन्।

लेखक : मदनमणि

अष्ट्रेलियाको सिड्नीमा बस्ने मदनमणि फेडरेसन यूनिभर्सिटीबाट सफ्टवेयर ईन्जिनियरिङमा स्नातकोत्तर हुन्। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर उनी कर्टिन युनिभर्सिटी अष्ट्रेलियाको 'प्रोजेक्ट म्यानेजमेन्ट' स्नातकोत्तर कक्षामा समेत थिए। उनीसँग नेपालमा मिडिया अध्यापन, फोटोग्राफी र पत्रकारिता गरेको अनुभव छ। अष्ट्रेलिया आउनु अघि उनी अन्नपूर्ण पोष्ट दैनिकमा आबद्ध थिए।
Loading...