
भ्रष्टाचार, कुशासन, अस्थिर, अपराधीकरण भएको राजनीतिका कारण नेपाल यतिखेर युवा तथा बौद्धिक शक्ति पलायनको बाटोमा छ । यतिखेर अभिभावकहरुमा रहेको छोराछोरी यूरोप वा अमेरिकाको कुनै शहरको कुनै शहरमा गएर भविश्य बनाओस् भन्ने चाहनाका कारण विद्यार्थीका रुपमा यूरोप, अष्ट्रेलिया तथा अमेरिका भित्रने नेपालीको संख्या निरन्तर बढिरहेको छ । काठमाडौंमा शैक्षिक परामर्शदाताको कार्यालमा अष्ट्रेलिया अध्ययनको ’boutमा बुझ्दा धेरैलाई पहिले अष्ट्रेलिया त पुगुँ त्यसपछि त गरिहालिन्छ नि भन्ने लागिरहेको हुन्छ ।
अष्ट्रेलिया स्वप्नलोकका रुपमा खडा भएको छ नेपाली यूवाका लागि, जहाँ पुगेपछि सामान्य प्रयासमा नै सपना र करिअरको स्तम्भ गाड्न सकिन्छ । तर वास्तविकता काठमाडौंबाट देखिनेभन्दा बिलकुल फरक छ । अष्ट्रेलिया अध्ययनका लागि आउने हो भने नेपालमा रहँदा नै केही विषयमा स्पष्ट हुनु जरुरी हुन्छ ।
पैसा कि पीआर ?
अष्ट्रेलिया यस्तो शैक्षिक गन्तव्य हो जहाँ अन्र्तराष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन सकेपछिको दुई वर्ष यहीँ बसेर आफ्नो क्षेत्रमा काम गर्ने अवसर भेट्छ । धेरै मुलुकबाट अष्ट्रेलिया अध्ययनका लागि आउनुको कारण यो पनि हो । यतिखेरको अध्यागमन व्यवस्था अनुसार उच्च तह (स्नातक वा स्नातकोत्तर)को अध्ययन सकेको विद्यार्थीले दुई वर्षको ‘पोस्ट स्टडी वर्क’को समय पाउँछ । यो त्यही समय हो जतिखेर पूरै समय काममा लगाएर अध्ययनका लागि गरेको सबै लगानी उठाउन सकिन्छ ।
अष्ट्रेलिया आउने कारण मध्येको सबैभन्दा प्रमुख चैं यहाँको पीआर (स्थायी बसोबास) नै हो । विद्यार्थी भिसामा आएकाले यहाँको जनशक्ति मागको अवस्था अनुसार विभिन्न विषय र क्षेत्रमा स्थायी बसोबासको अवसर पाउँछन् । पीआरका लागि प्रयास गर्ने योजना हो र अष्ट्रेलिया सँधैका लागि बसोबासको थलो बनाउने हो भने त्यसको योजना नेपालबाटै बनाउनु पर्छ । आफ्नो अध्ययनको क्षेत्र र रहेको सीपले नै पीआरको अवसर निर्धारण गर्दछ । पीआर लिएर अष्ट्रेलियामा बसोबास गर्ने हो भने यहाँको माग अनुसारको विषय छनौट गर्नुपर्दछ । यतिखेर अष्ट्रेलियामा नर्सिङ, आइटी र अकान्टिङ विषयले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पीआर मिलाउँदछ ।
पीआरलाई केन्द्रमा राख्ने हो भने अष्ट्रेलिया आइसकेपछि काममा भन्दा पनि धेरै ध्यान पढ्नमा दिनुपर्ने हुन्छ । धेरै समय र पटक–पटक फेल भएर पढिरहन नपाइने भएपनि नेपालबाट आउनेले फेल भएर लामो समय बिताउने सोच्नु भने गलत हुनजान्छ । जति ढिला भयो पीआरका लागि त्यति नै धेरै मुस्किल र तरिका अपनाउनुपर्ने हुन्छ ।
विषय छनौट
अष्ट्रेलियामा अध्ययन गर्नको लागि विशेष कोर्सहरु बाहेक करिब करिब सबैजसोमा जुनसुकै पृष्ठभूमिका विद्यार्थीले जुनसुकै कोर्स अध्ययन गर्न पाउँछन् । भाषाको न्यूनतम मापदण्ड भने पालना गर्नुपर्छ जस्तो कि स्नातकोत्तरमा अध्ययन गर्नका लागि आइएलटीएसमा कम्तिमा ६.५ ओभरअलमा आएको हुनुपर्छ (यो विश्वविद्यालय र कोर्स अनुसार फरक हुन्छ) । त्यसैले सकेसम्म अष्ट्रेलियामा भविष्य र पीआरको सम्भावना भएको विषय छान्नु उत्तम हुन्छ ।
नेपालका कन्सल्टेन्सीहरुले विद्यार्थीलाई यो विषयमा भिसाको सम्भावना कम छ भनेर आफूलाई धेरै कमिसन दिने र आफू प्रतिनिधि रहेको विश्वविद्यालयमा मात्र अप्लाइ गर्नमा जोड दिन्छन् जुन सरासर गलत हो । जुनसुकै विषयमा अष्ट्रेलिया आएर पछि फेरी यहाँको बजार र पीआरको लिस्ट अनुसार विषय परिवर्तन गर्दा कम्तिमा एक वर्ष र रू २० लाख जति नेपाली रुपैयाँ बर्बाद मात्र हुन्छ । त्यसैले कन्सट्यान्सिले होइन विद्यार्थी आफैले आफू पढ्ने विषय छनौट गर्नुपर्दछ ।
काम र पढाइ
अन्तर्राष्ट्रिय विद्यार्थीका लागि कानुनी र अध्यागमन नियमले नै सातामा २० घण्टा काम गर्ने अनुमति दिन्छ । तर कर र नियमको दायराभन्दा बाहिर गएर पैसा (क्यास इन ह्याण्ड)मा पनि काम गर्न सकिन्छ । पैसा कमाउनु पर्ने दबाबले गर्दा धेरै विद्यार्थीहरुको रोजाइ काम हुने गरेको छ । तर, काम गरेर कमाइने रकमको तुलनामा फेल भएको खण्डमा पुनः भर्ना गर्दा लाग्ने रकम धेरै हुने भएकाले काममा बढी जोड दिनुभन्दा काम र पढाइलाई बराबर प्राथमिकताका साथ अगाडि बढाउने योजना बनाउनु उपयुक्त हुन्छ ।
अष्ट्रेलिया केही वर्ष बसेर पैसा कमाइसकेपछि नेपाल फर्कने योजना छ भने चाहिँ पढाइमा कम तथा काममा बढी ध्यान दिन सकिन्छ । तर मुख्य याद राख्नुपर्ने कुरा के हो भने पढेपछि मात्र पीआर वा आम्दानीको बाटो पत्ता लगाउन सकिन्छ । अष्ट्रेलियाको पढाइ अन्र्तराष्ट्रिय रुपमा नै मान्यताप्राप्त भएकाले पढाइ सकेर विश्वको कुनै पनि कुनामा गएर काम गर्न तथा करिअर बनाउन सकिन्छ । त्यसैले लाखौं करोडौं खर्चको योजना सहित गरिएको अध्ययनलाई सफलता पूर्वक समाप्त गर्नमा जोड दिनु नै सबैभन्दा उत्तम उपाय हुन्छ । धेरै विद्यार्थीहरु काममा बढी जोड दिने र पढाइमा फेल हुने भएकाले अष्ट्रेलियन अध्यागमनले विद्यार्थीहरुको कक्षामा उपस्थिती दर तथा काम गर्ने प्रवृत्तिमा विशेष अध्ययन गरिरहेको हुन्छ । समय समयमा भिसा नियम पालना नगरेका कारण विद्यार्थिहरुको भिसा क्यान्सिल गरेर घर पठाइदिएको समाचार आइरहेको हुन्छ । समाचारको पात्र नहुनका लागि काम र पढाइमा ब्यालेन्स जरुरी हुन्छ ।
आर्थिक व्यवस्थापन
अष्ट्रेलिया अध्ययनका लागि आउने नेपाली विद्यार्थीको एउटा ठूलो समस्या भनेको आर्थिक व्यवस्थापन हो । नेपालबाट अष्ट्रेलिया जानुमात्र पर्छ सबै म्यानेज हुन्छ भनेर अध्ययन योजना बनाइएको हुन्छ । कतिपय त यहाँ रहेका साथीभाई वा आफन्तको सहयोग पाउने आशा पनि राखेका हुन्छन् तर अष्ट्रेलियामा त्यसो हुनु सुखद कल्पना मात्र धेरै मात्रामा हुने गरेको छ । यहाँको सबैभन्दा महत्वको चिज भनेको नै पैसा हो । जुन सापटी वा सहयोगका रुपमा पाउने संभावना निक्कै नै कम हुन्छ । त्यसैले यूनिभर्सिटी तथा कलेजको शुल्क, साथै खाने बस्ने खर्च व्यवस्थाको योजना नेपालबाट नै मिलाउनु उत्तम हुन्छ । कम्तिमा अष्ट्रेलिया आएको एक वा दुई महिनासम्मका लागि आवश्यक पर्ने खर्च लिएर आउनु सबैभन्दा राम्रो र सही निर्णय हुनजान्छ । किनकी काम पाउनका लागि र त्यसमा सेटल हुनका लागि दुई महिना जतिको समय लाग्छ नै, बाँकी रहेको पैसा कलेज, यूनिभर्सिटीको शुल्क तिर्नमा लगाउन सकिन्छ ।
नेपालका बैंकबाट शैक्षिक कर्जा लिएर त्यहीँबाट यूनिभर्सिटी तथा कलेजको शुल्क तिर्ने व्यवस्था मिलाउने र यता कमाएको रकम उता कर्जा तिर्नका लागि प्रयोग गर्ने हो भने अष्ट्रेलियामा पढिन्जेल समस्यामा परिँदैन र आर्थिक व्यवस्थापन पनि सहज हुन्छ ।
नेपालभन्दा चार गुणा छिटो छ
अष्ट्रेलियाको समय सूर्यमा आधारित भएकाले वर्षमा एकपटक एक घण्टाको तलमाथि हुन्छ । त्यसले पार्ने प्रभावका कारण नेपालसँगको समय अन्तर ४ देखी ५ घण्टा को छ । तर यहाँको जीवन नेपालकोभन्दा कम्तिमा पनि चार गुणा छिटो छ । नेपालमा ३० दिनको महिना हुन्छ भने यहाँ सात दिनको । अर्थात, हरेक साता कामबाट तलब पाइन्छ अनि हरेक साता घरभाडा तिर्नुपर्छ । हरेक कुराको योजना एक साताका लागि बनाउनु उत्तम हुन्छ । सातामा दुई दिन शनिबार र आइतबार छुट्टि हुन्छ, यी दिनमा काम गर्दा अन्य दिनको तुलनामा धेरै दर (पैसा) पाइन्छ । यहाँका मानिसहरु समय प्रति निक्कै सचेत भएकाले समयमा नै काममा पुग्नु र त्यसका लागि समयमा नै बस तथा रेल समात्नु आवश्यक हुन्छ । सिड्नीमा अवसर, समय र रेलले कसैलाई पनि पर्खंदैन ।
साथ सीप र श्रीमान्/ श्रीमती
अष्ट्रेलियाको एउटा मुख्य व्यवसाय पर्यटन भएकाले यहाँ पाउने कामहरु पनि यसैसँग सम्बन्धित हुन्छ । त्यसैले अष्ट्रेलिया अध्ययनका लागि आउनेहरुले किचन, कुकरीसँग सम्बन्धित अनुभव र सीप लिएर आउनु राम्रो हुन्छ । त्यसबाहेक हाउस किपिङ, बरिष्टालगायत यहाँ धेरै काम पाउने क्षेत्र हो । त्यसबाहेकका अन्य कामका लागि यहीँ आएर तालिम लिनुपर्ने हुन्छ त्यसका लागि कम्तिमा एकहजार डलरसम्मको योजना बनाउनु उत्तम हुन्छ ।
स्नातक तहमा अध्ययनमा आउनेको डिपेन्डेन्टले २० र स्नातकोत्तर तहमा आउनेकोले सकेजति काम गर्न पाउने व्यवस्था भिसा तथा अध्यागनम नियममा रहेकाले विवाह गर्ने उमेर भएकाले श्रीमान्/ श्रीमती सहित अष्ट्रेलिया आउनु राम्रो हुन्छ । जसले यता आर्थिक साथै मनोवैज्ञानिक पक्षमा समेत सहयोग गर्छ । यतै सेटल भएर बस्ने सोच भएकाले त श्रीमान्/ श्रीमती लिएर आउनु वा बिहे गरेरसँगै आउनु उत्तम हुन्छ । अष्ट्रेलियन समाजमा घुलमिल हुने तथा साथै संघर्ष गर्ने भएकाले जीवनमा पछि समस्या पनि आउँदैन । डिपेन्डेन्ट लिएर आउनेहरुले राम्रै प्रगति गरेका छन् भने छिटो सेटल हुन र पढाइमा जोड दिन सहज हुन्छ ।
ल्याउनुस मोबाइल, ल्यापटप र लाइसेन्स
अष्ट्रेलिया आएपछि आइफोन, म्याक र गाडी लिने सबैको रहर हुन्छ । तर त्यो पूरा गर्न समय लाग्छ । त्यसका लागि हतार पनि नगरेको नै राम्रो हुन्छ । यहाँ प्याकेजमा आइफोन लिँदा सुरुमा पैसा तिर्नु पर्दैन तर फोनको किस्ता दुई वर्षसम्म तिर्दा एउटा आइफोनलाई एक हजारभन्दा बढी पर्छ त्यसैले बुद्धिमानी चैं नेपालमा चलाइरहेको मोबाइल लिएर आउनु हुन्छ । ’cause यहाँ फोन बाहेक सीम मात्रको प्याकेज लिने हो भने सुविधा धेरै र मूल्य कम पर्छ ।
अष्ट्रेलियामा ल्यापटप किन्न कम्तिमा पनि चार÷पाँच सय डलर र म्याकबुक किन्न एक हजारभन्दा माथि लाग्ने भएकाले सुरुमा आउनेहरुलाई नेपालबाट चलाइरहेको ल्यापटप ल्याउन नै सहज हुन्छ । विश्वविद्यालय तथा कलेजको पढाइ धेरै असाइनमेन्ट अनलाइनमा आधारित हुन्छन् । त्यसो त काम खोज्नका लागि पनि कम्प्युटर आवश्यक हुने भएकाले यहाँ आएको पहिलो दिनदेखी नै चाहिने चिज भएकाले नेपालबाट चलाइरहेको नै ल्याउनु उत्तम हुन्छ ।
नेपालको ड्राईभिङ लाइसेन्सले यहाँ गाडी चलाउन पाइने भएकाले नेपालमा गाडी चलाउने लाइसेन्स लिनुभएको छ भने त्यो लिएर आउनु सही हुन्छ । नेपालको र यहाँको ट्राफिक नियम उस्तै रहेको र गाडीहरुको बनाबट पनि उस्तै भएकाले यहाँ गाडी चलाउन गाह्रो हुँदैन । त्यसो त कारहरु निक्कै सस्तो पनि छन् । यहाँको लाइसेन्स लिन निक्कै नै मुस्किल हुन्छ, त्यसैले यहाँको लाइसेन्सलाई सेकेण्ड पीआर पनि भन्छन् मानिसहरु । नेपालको लाइसेन्समा भएको प्रावधान यहाँ पनि मान्य हुन्छ, नेपालमा कार चलाउन पाउनेले यहाँ पनि त्यही लाइसेन्सको आधारमा कार चलाउन पाउँछ ।
एजुकेसनन्यूजका लागि केही समय अगाडी लेखिएको यो लेख यहाँ पनि पढ्न सकिन्छ।