अष्ट्रेलियाले विभिन्न मुलुकबाट आएका ६० हजारको भिजा रद्द गरेको यहाँको अध्यागमन तथा सीमा सुरक्षा विभागले जनाएको छ। यो संख्या अार्थिक वर्ष २०१५-२०१६ को हो। विभिन्न देशबाट फरक फरक भिजामा अष्ट्रेलिया आएकाहरूको यति धेरै संख्यामा भिजा रद्द हुनुको कारण भने फरक फरक रहेको जनाएको छ। भिजा रद्द हुने मध्ये ठूलो संख्यामा अष्ट्रेलियामा भिजामा उल्लेख भएको समय भन्दा बढी समय यहाँ रहेका(ओभर स्टे)हरू रहेका छन्। भिजामा अनुमति मिलेको समय भन्दा बढी बसेको कारण रद्द हुनेहरूको संख्या १५ हजार रहेको छ। यी मध्ये अधिकांश आफैले विभागमा सम्पर्क गरेका हुन्।
अष्ट्रेलियाको अध्यागमन तथा सीमा सुरक्षा विभाग (डिपार्टमेन्ट अफ ईमिग्रेसन एण्ड बोर्डर प्रोटेक्सन) सेक्रेटरी माईकल पेज्जोलो ले १७ अक्टोबर २०१६ मा यहाँको सिनेटको कानुन तथा संवैधानिक मामला सम्बन्धी कमिटीलाई जानकारी दिने क्रममा भिजा रद्दबारेको यो तथ्यांक सार्वजनिक भएको हो। यही समयावधीमा विभागले गैरकानुनी कामदारबारे ४०० भन्दा बढी चेतावनी जारी गरिसकेको जनाएको छ।

अष्ट्रेलियाको अध्यागमन एेनका आधारमा सन् २०१४ डिसेम्बर देखी जुन २०१६ का बीच १५३० भन्दा बढीको भिजा चरित्रका कारण रद्द भएको छ। त्यस्तै ४८८ जनाको भिजा आवेदन अस्विकार गरिएको विभागले जनाएको छ।
डिपार्टमेन्ट अफ ईमिग्रेसन एण्ड बोर्डर प्रोटेक्सन सेक्रेटरी माईकल पेज्जोलो ले १७ अक्टोबर २०१६ मा सिनेटको लिगल एण्ड कन्स्टीच्युसनल अफेयर्स लेजिस्लेसन कमिटीमा दिएको लिखित मन्तव्यको पुरा पाठ यहाँबाट पढ्न सक्नुहुन्छ।
यसबारे एसबीएसले लेखेको समाचार यहाँ छ।