फेसबुकका भित्तासँगै आमाका हँसिला मुहारहरु

विदेश भन्ने बितिकै छिटो-छिटो आफ्नो गन्तव्य तिर हतार-हातर गरेर हिडिरहेका मानिसहरुको हूल दिमाग मा घुम्न थाल्छ, किनभने मैले बच्चा बेलाबाटै सिनेमा मा तेस्तै देख्दै आएको थिए। यहाँ समय को ईज्जत गर्ने मान्छे हरुको बसोबास छ, दौड धुप अनि हतार मै समय बितेको पत्तो हुन्न। आज कामबाट अलि चाडै आए अनि थकित भएर बेडको एक छेउमा लडिरहेको मेरो ल्यापटप खोले ,बिचरो ल्यापटप दिनभरि फुर्सद हुन्न एस्लाई। अनि हत-पत ल्यापटप खोले, यता आउनु भन्दा पहिलाको फोटो हरु खोज्न थाले, अनि अचानक आज भन्दा करिब चार वर्ष अगाडी आमा सँग खिचिएको मेरो फोटो पाए। अनि फेसबुक को भित्ता मा पछारे, प्रसङ्ग आमा को मुख हेर्ने दिन को थियो।

फेसबुकका भित्तासँगै आमाका हँसिला मुहारहरु - katuwal.com
लेखक: सुरज ओली (सिड्नी ,अस्ट्रेलिया )

आजभोली चलन नै नया आएको छ। बिहानै फेसबुक बाटै १ लाइक गरेर कैले पशुपति कैले मनकामना अनि कैले पाथीभरा को दर्शन गरिन्छ। जे होस् दर्शन गर्न लाईन पनि बस्न परेको छैन, अनि मन्दिर सम्म पुग्दा लाग्ने समय र लागत नि बचेको छ। कहिलेकाही त लाग्छ भगवान लाई मेरो गोजी को अवस्था राम्रैसग थाहा भएर होला एस्तो दर्शन गर्ने प्रचलन चलाउनु भएको। आज भोलि जन्मदिन पनि फेसबुक मा फोटो हालेर मानिन्छ, आमा -बुबा को मुख हेर्ने दिन पनि फेसबुकम़ा फोटो हालेर मानिन्छ, येस्तै गतिमा जाने हो भरे त कुनदिन बाट श्राद्ध पनि फेसबुक बाटै पिण्डको फोटो अपलोड गरेर गर्ने दिन नि नआउला भन्न सकिन्न।

Loading...
आमा ले बच्चा बेलामा मलाई नुहाईदिदै भन्नु हुन्थ्यो यति गरेर हुर्कायो नि पछि बुढी ल्याएपछि छाडेर गइहाल्छस्। हुन नि मैले आमालाई बेलैमा छाड्नु पर्यो तर कारण मेरी श्रीमती नभएर मेरै पढाई थियो। मेरी आमा जसले खासै पढने मौका पाउनु भएको थिएन, तर पनि उहाँले मलाई घर भन्दा टाढा काठमाण्डौं पढन पठाउनु भयो। उहाँलाई पढाइको महत्व राम्रो सँग थाहा थियो। अनि त्यसपछि दसैँ बाहेक अरु चाड-पर्वमा  सितिमिति घर पुगीदैनथ्यो। दिदीहरुले फेसबुक मै फोटो अपलोड गरेर भाईटिका लगाइएदिनुहुन्थ्यो, फेसबुक मै फोटो अपलोड गरेर राखी लगाइएदिनुहुन्थ्यो धन्न फेसबुकले गर्दा निधार र हात खाली राख्न परेन।

घरबाट पढन भनेर निस्किएको म सुरूमा तेस्तै १०५० किलोमिटर टाढा थिए। हुँदा-हुदै भविष्य राम्रो बनाउने सुरमा आज घरबाट हजारौं कोश टाडा उछिट्टिएर अस्ट्रेलिया आइपुगे। त्यसपछि पहिला-पहिला आमा-बुबा को हात बाट थप्ने गरेको दशैँको टिका नि फेसबुकबाटै लगाउन थालेको नि दुई वर्ष भैसकेछ। आमा ले भन्नु हुन्थ्यो म जन्मँदा मेरो तौल औसत मात्र थियो। उहाँ भन्नु हुन्थ्यो दुब्लो पातलो थिइस् तँ,सानो काखभरी को पनि थिइनस, सँदै रोइरहन्थिस, अनि राति कैले सुत्न दिँदैनथिस् मलाई।

अभागी मेरी आमा; आज म आखाँभरीको भएको छु, सानो-तिनो कुरामा रुन त के आँशु को अ पनि आउँदैन। सुत्न पनि बेलुका सुतेपछि बिहान १० नबजी आँखा खुल्दैन। तर मेरी आमाको चैँ ति राता गालामा चाउरी पर्न सुरु भैसके होला, उहाँका ती नजरहरु पनि धमिलिन सुरु भैसके होलान्, मलाई ताते-ताते गरेर हिडाउन सिकाउने मेरी आमा को हात-खुट्टा काम्न थालेका होलान्, उहाँको त्यो कसिलो शरीर अझै त्यस्तै पक्कै पनि छैन, मेरो जन्मदिन मनाउन मै खुसी हुने मेरी आमालाई आफ्नो उमेर र बैश ढल्दै गएको विचार राख्न उहाँ सँग फुर्सद कहाँ हुनु र?

बुबा सँधै काम को सिलसिलाले गर्दा धेरै जसो घरबाट बाहिर नै हुने गर्नुहुन्थ्यो। तेसैले मेरा धेरै जसो समय आमा सँगै बित्ने गर्थ्यो। गाउँघरमा आफ्नो छुट्टै पहिचान र इज्जत थियो उहाँको। अती नै मिजासिली अनि सहयोगी भावना को हुनुहुन्थ्यो मेरी आमा, कसैलाई सहयोग गर्नु पर्यो भने सँधै अघि सर्ने मेरी आमा घरपरिवार, ईष्टमित्र अनि समाजलाई कसरी मिलाएर लैजाने हो उहाँलाई राम्रो सँग थाहा थियो। किनभने उहाँ परेर जान्ने हुनुभएको मान्छे म नाथे मरी तरी पढेर। धेरैले मलाई पहिलो पटक देख्दा केटो आमातिर गएछ भन्थे, पातले -गोरे अनि म नि मनमनै सोच्थे आमाले धेरै नै मायाँ अनि दुख गरेर जन्माएको म आमा तिर नै त जान्छु नि हैन र आमा?

फेसबुकका भित्तासँगै आमाका हँसिला मुहारहरु - katuwal.com
सुरज ओली (बीचमा) आमा र सासुआमाका साथ

जिउँदो हुँदा खोजीवास्ता नगर्ने तर मरे पछि मातातिर्थ गएर पुजा लाउने सन्तानका नाममा कलङ्कहरु नि प्रसस्त छन्, उनीहरुलाई मानिस त के जनवार सँग नि तुलना गर्न मिल्दैन किनकि जनवारले आफु अबुझ नै भए पनि आफ्नो आमाको काखमा लुपुक्क परेर बस्छ, आफ्नी आमालाई मायाले चाट्छ। आमा पनि त पहिला जवान अनि केटी नै हुनुहुन्थ्यो होला उहाँलाई नि दिसा पिसाब बाट घिन लाग्थ्यो होला तर नि आफ्नो बच्चालाई सफासुग्घर राख्न ति सबै कुराहरुमा ध्यान दिनु भएन उहाँले। जानी नजानी कति पटक त मैले उहाँको काखैमा दिसापीसाब नि गरें होला तर आज तिनै आमाले थोरै मात्र खोकिन भने नि छि फोहरी बुढी भन्ने महासय नि नहुनुभएको चैं हैन। आज हामीले जति सुकै कमाए नि जहाँ सुकै पुगे नि हामीलाई यो धर्ति देखाईदिने आमा सायद पाउन सजिलो छैन। संसारमा सम्पतिले साथीभाई किन्न पाइएला, इज्जत किन्न पाइएला, नाम पाइएला तर केवल एक आमा अनि बुबा पाउन सायद अर्को जुनी नै लिन पर्छ।

आज तपाई को दिन आमा, तपाईलाई दिन कुनै मुल्यावान वस्तु त पक्कै पनि छैन, किनकि तपाईले मलाई गर्भमा आउँदा देखि भोग्नु भएको दुखाई, तपाईको पीडा तपाईले गर्नु भएका त्याग अनि तपस्या अनि म बढ्दा म सँगै बढेका तपाईका म प्रतिका आशा अनि भरोसाहरु एक जिम्मेबार छोरा भएर पुरा गर्न सकुँ, तपाईले जसरी आफ्नो आमुल्य समय बिताएर मलाई हुर्काउनु भयो हजुरको वृद्ध अवस्थामा हजुरको साथ-साथै बिताउन पाउँ। हजुरलाई ताते-ताते गरेर त हिँडाउन पर्दैन मैले तर बाचा गर्छु आमा तपाई को एउटा हात लौरो म़ा भए नि अर्को हात मेरो काँध म़ा हुनेछ। मेरो यो तपाई प्रतिको सहानुभूति हैन आमा केवल माया अनि सम्मानहो अनि अलिकति मेरो स्वार्थ पनि किनकि भोलि मेरो श्रीमतीले अनि मैले धेरै कुराहरु सिक्न छ तपाईबाट। ताकी भोलिका दिनम़ा गएर मेरी श्रीमती हजुर जस्तै आमा बन्न सकुन मेरा छोरा छोरीको लागि।

आमा तपाई प्रति निकै नि आभारी छु म मेरो लागि धेरै रात नासुतिदिएकोमा, मेरा लागि धेरै पटक आफु भोकै बसिदियेकोमा, म दुखी हुँदा मसँगै रोईदिएकोमा, म खुसी हुँदा म सँगै हाँसिदिएकोमा अनि अन्त्यमा म माथि विश्वास राखिदिएकोमा। अनि कुनै दिन मेरो मति बिग्रिएमा हजुरलाई मैले भनेको कुरामा चित नबुजेमा मेरा कान समातेर सम्झाउनु है !!!! किनकी म त हजुर को छोरा हो मलाई गल्ति गर्ने आधिकार छ अनि हजुर लाई सधै सजाएँ दिने आधिकार !!!

अनि मेरी अर्की आमा जसले आफ्नो कोपिला मेरो हातमा सुम्पिएर मलाई आफ्नो छोराको ठाउँ दिनुभएको छ तपाई प्रति पनि म सदैव आभारी छु। तपाईलाई हेरेर मैले मेहेनत र परिश्रम गर्न सिकेको छु, तपाईलाई हेरेर मैले सानो तिनो निर्णय गर्न अनि आफ्नो सोच पुरा गर्न आफुमा ईच्छा शक्तिको विकास गर्न सिकेको छु।

आभार छु आमाहरु तपाइको विश्वास ,साथ अनि माया पायर। अन्त्य मा हजुर का सुन्दर मुहार अनि सुन्दर मनले भरिएका तस्बिरहरुले फेसबुकका भित्ता रंगाएर। हजुरहरु प्रति आफ्नो जिम्मेवारी सदैव पुरा गर्ने बाचा का साथ मेरा सल्बलाई रहेका हात र कलम लाई बिश्राम दिन्छु !!!

के गर्ने आमा जमाना फेसबुक को छ।

Loading...